पर्साका अधिकांश स्थानीय तहमा विवाद

वीरगन्ज-पर्साको अधिकांश स्थानीय तहमा अहिले देखिएको विवादका कारण स्थानीय तहको दैनिक कार्यसम्पादन प्रभावित भएको छ । जनप्रतिनिधिहरूबीच नै सामन्जस्यता नहुँदा पर्साका स्थानीय तहमा विवाद उत्पन्न भएपछि कार्य सम्पादन समेत प्रभावित भएको हो । सिंहदरबारको अधिकार घर घरमा पाउने आशामा जनताले भोट दिएर जिताएका प्रतिनिधिहरू अहिले आपसमा झगडा गर्न थालेपछि स्थानीय तहका कामकाजहरू पनि ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जनताको मतबाट जितेर गएका जनप्रतिनिधिहरू व्याक्तिगत स्वार्थका लागि गर्ने गतिविधिहरूका कारण नै मतदाता अहिले निराश बन्दै गएका छन् । पर्साको स्थानीय तहको पहिलो विवाद ठोरी गाउँपालिकामा देखिएको छ । ठोरी गाउँपालिकाको वोर्ड बैठकले ठोरीलाई प्रदेश नम्बर ३ मा गाभ्ने निर्णय गरेपछि विवादमा आएको जनप्रतिनिधिहरू दोश्रो पटक गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेपछि थप विवादमा परेका छन् । गएको माघ १५ गते बसेको गाउँपालिकाको वोर्ड बैठकले सुवर्णपुरमा रहेको गाउँपालिका केन्द्र वडा नम्बर ४ को घ्याङ डाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासीले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलन शुरुभएदेखि दुई चरणमा बसेको दुईपक्षीय वार्तामा अझै सहमति हुन सकेको छैन । सहमतिमा पुग्नका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरेपछि आन्दोलनको ३९ औं दिन शुत्रबारदेखि भने सवारी साधन चलाउन दिने सहमति भएको छ । यद्यपि त्यहाँको केन्द्रको विवाद भने कायमै रहेको छ । त्यस्तै पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा पनि कर्मचारी नियुक्तमा विवाद भएपछि अहिले नगरपालिका कार्यालयमा ताला लगाईएको छ । नगर प्रमुखको एकलौटी निर्णयप्रति असन्तुष्ट वडा अध्यक्षहरूले एकहप्तादेखि नगरपालिकामा तालाबन्दी गरेका हुन् । कर्मचारी नियुक्तिको विषयलाई लिएर वडाअध्यक्षहरूले ६ दिन अगाडि लगाएको ताला खुलाउन शनिबार वडाअध्यक्ष र मेयर रौनियारबीच छलफल भएको थियो । छलफलको क्रममा मेयर रौनियारले
आफुले पदीय हैसियतमा रहेर नियमानुसार ९ जना कर्मचारीको नियुक्ति गरेको बताउदै आपूmले गरेको निर्णय फिर्ता नहुने जनाएपछि विरोधमा रहेको वडा अध्यक्षहरू छलफलबाट बाहिरिएका थिए । वार्तामा नियुक्तिको विरुद्धमा उत्रेका वडा अध्यक्षहरूले मौखिक तोक आदेशमा गरेको नियुक्ति खारेज गरी नेपाल सरकारको नियमानुसार सार्वजनिक सूचना मार्पmत् कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाए सम्म ताला नखोलिने मेयर बताएका छन् । १० वटा वडा रहेको पोखरिया नगरपालिकामा २ वटा वडाअध्यक्षहरू मेयरको पक्षमा रहेका छन् भने उपाध्यक्ष सलमा खातुनपनि मेयरको पक्षमा नै रहेकी छिन् । राजनीतिक दाउपेचका कारणले पनि स्थानीय तहमा विवाद देखिएको हो । त्यस्तै यसअघि विन्दवासिनी गाउँपालिकाको पनि केन्द्र सार्ने विषयमा स्थानीयले विरोध जनाएर गाउँपालिका कार्यालयमा तालबन्दी गर्न लागेका थिए । गाउँपालिका प्रमुखले त्यस विषयमा आपसी सहमतिमा निर्णय गर्ने भनेपछि आन्दोलन रोएिको थियो । गाउँपालिका प्रमुख विरुद्ध एकदिन नारावाजी सहित जुलुश प्रदर्शन गरेका थिए । त्यस्तै कालिकामाई गाउँपालिकामा पनि बोर्ड बैठकले गरेको निर्णयमा विवाद भएको छ । वडा अध्यक्षहरूलाई सवारी साधन खरिद गर्ने निर्णयको स्थानीयले विरोध गरेका थिए ।