भूकम्पले चिराचिरा परेको बस्तीमा जोखिमपूर्ण बसोबास

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० न्याम्सेदुङका १४ परिवार करिब तीन वर्षदेखि रातमा राम्ररी निदाउन सकेका छैनन् । गत २०७२ साल बैशाखमा गएको भूकम्पपछि चिराचिरा परेको बस्तीमा माथिबाट डाँडो नै खसेर जतिबेला पनि पुर्न सक्ने भय बोकेर उनीहरू जोखिमपूर्ण जीवन बाँचिरहेका छन् ।
भूकम्पका कारण बस्तीमा जमिन चर्किएको र गाउँको दुबैतर्फबाट पहिरोको अवस्था रहेको भन्दै १४ घरधुरीले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेको पनि तीन वर्ष हुन थालिसक्यो तर, कतैबाट पनि हालसम्म सुनुवाई भएको छैन । भूकम्पछि भत्किएको घर निर्माणको लागि पूननिर्माण प्राधिकरणले १४ वटै घरधुरीलाई लाभग्राहीको सूचीमा राखे पनि स्थानीयले भने बस्ती नै स्थानान्तरण गर्नुपर्ने भन्दै सो स्थानमा घर निर्माण गर्न नसक्ने बताउँदै आएका छन् । उनीहरूले आफ्नो बस्ती जतिबेला पनि पुरिन सक्ने भन्दै सरकारी निकायदेखि अधिकारवादी संघसंस्थासम्म पनि पटकपटक धाइरहेका छन् तर, कतैबाट पनि साहारा नपाएको बताएका छन् । “भूकम्पलगतै तत्कालीन गाविस कार्यालयमा पनि बस्तीमा बस्न अयोग्य रहेको भन्दै हामीले जानकारी गराएका थियौं, कसैले वास्तै गरेनन् अहिलेसम्म धेरै ठाउँमा धाइसक्यौं कतैबाट पनि बस्ती सार्नेबारे चासो दिएका छैनन्, के अब हामी जानाजान पुरिएर मर्न पर्ने हो ?,” स्थानीयले सुदीप जिम्बाले प्रश्न गरे । पुननिर्माण प्राधिकरणबाट निरिक्षणको लागि खटिएका प्राविधिकहरूले पनि घरको मात्र निरीक्षण गरी लाभग्राहीको लागि सिफारिस गरेको तर, बस्तीको विषयमा कुनै पनि चासो नदिएको जिम्बाले बताए ।
दुईतिर भीरको बीचमा रहेको बस्तीमा ठूलाठूला चिरा परेको र बस्ती माथि रहेको डाँडो नै भासिने अवस्थामा रहेकाले तत्काल आफूहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीयले हारगुहार गरिरहेका छन् । “गाउँमाथिको डाँडो ५–७ मिटर चिरिएर बसेको छ, जुनसुकै बेला खसेर गाउँ नै सखाप पार्न सक्ने देखिन्छ, डरैडरमा हामी कसरी बस्ने, जाने ठाउँ पनि कहिँ छैन ।” अर्का स्थानीय अविनाश भोम्जनले मलिन स्वरमा गुनासो गरे । बस्ती स्थानानन्तरणको लागि कैलाश १० नम्बर वडा कार्यालयको सिफारिसमा कैलाश गाउँपालिकाले पनि जिल्ला प्रशासन कायालयलाई बस्ती स्थानान्तरणको आवश्यकता देखिएको भन्दै सिफारिस गरेको छ । तर, जिल्ला प्रशासन तथा पुननिर्माण प्राधिकरणको जिल्ला शाखाले भने हालसम्म कुनै कदम अघि बढाएको छैन ।
विभिन्न अधिकारबादी संघसंस्थाले पनि जोखिमपूर्ण बस्ती स्थानान्तरणको लागि आवाज उठाइरहेका छन् । सोहीअनुरूप स्थानीयको आवाज पुननिर्माण प्राधिकरणको केन्द्रीय ईकाइसम्म पनि पुगिसकेको छ तर, प्राधिकरणले पनि तत्काल विज्ञ टोली खटाउने आश्वासन मात्र दिएको छ । भूमि अधिकार मञ्च नेपालले केही महिना अघि गाउँको स्थलगत अवलोकन गरी अवस्थाको बारेमा पुननिर्माणका सिइओ युवराज भुषाललाई जानकारी गराएको थियो । “वस्तीको अवस्था निकै डरलाग्दो छ, जुनसुकै बेला पहिरो गई बस्ती नै सखाप हुनसक्छ,” भूमि अधिकार मञ्चका संयोजक नरिराम लोटारले भने, “हामीले पुनर्निर्माण प्राधिकरणलाई तत्काल बस्ती सार्नको लागि अनुरोध गरेका छौं, उताबाट पनि विज्ञ टोली खटाएर निरीक्षण गर्ने भन्ने जवाफ आएको थियो तर, काम अघि बढेको छैन ।”
यस विषयमा प्रतिक्रिया माग्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आफूसम्म स्थानीयको गुनासो नआइपुगेको बताए । सो विषयमा आफूलाई औपचारिक जानकारी आएमा केन्द्रमा विज्ञ टोली माग गर्न सिफारिस गरिने प्रतिक्रिया दिए । विज्ञ टोलीले बस्ती स्थानान्तरणको अवस्था देखेमा त्यसको व्यवस्थापन गर्नुपर्ने दायित्व आफूहरूको रहेको उनको भनाइ थियो ।
–केशव समर्पण