व्यवस्थित प्रदर्शनी र सम्मेलन केन्द्रको खाचों «

व्यवस्थित प्रदर्शनी र सम्मेलन केन्द्रको खाचों

जबजब राजधानीमा कुनै ठूला राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुन्छन्, त्यतिबेला मौसमी रागजस्तो व्यवस्थित प्रदर्शनी एवं सम्मेलन केन्द्रको खाँचो रहेको आवाज उठने गर्छ, तर जसै ती मेलाहरू सकिन्छन् अनि छेपाराको कथाजस्तो यसबारे आवाज उठाउनेहरूले पनि बिर्सन्छन् । राजधानीभित्र अहिले प्रदर्शनी कक्षका नाममा भृकुटीमण्डपको पुरानो टिनको टहराजस्तो एउटैमात्र प्रदर्शनी केन्द्र छ भने भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले संसद्लाई भाडामा दिइएका कारण होटलहरूमा सम्मेलन गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठान त छन्, तर परम्परागत स्वरूपमा निर्माण गरिएका ती केन्द्रहरू केवल नाटक प्रदर्शन गर्ने मञ्चभन्दा बढी उपयोगमा आउन सक्ने अवस्था छैन । उपत्यकाभित्र त यो अवस्था छ भने अन्य प्रादेशिक सहरहरूमा कस्तो अवस्था होला, सहजै अनुमान लगाउन सकिन्छ । विराटनगर र पोखराका सभागृहहरूलाई नै अहिले प्रादेशिक संसद् भवनका रूपमा उपयोग गरिरहिएको छ । ठूलो व्यवस्थित प्रदर्शनी कक्ष एवं अन्तर्राष्ट्रिय स्तरको सम्मेलन कक्षको समेत आवश्यकता पूरा गर्ने गरी राजधानीको चोभारस्थित तल्कालीन हिमाल सिमेन्टको जग्गामा प्रदर्शनी कक्ष बनाउने भनेर प्रक्रिया सुरु गरिए पनि त्यसले गति पाउन सकेको छैन । चोभारमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा प्रदर्शनी तथा सम्मेलन कक्ष बनाउने भनेर निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नै प्रस्ताव अघि सारेको हो, तर यसको स्वामित्वका विषयमा अझै सरकारले ठोस निर्णय नै लिन सकेको छैन ।
चोभारमा प्रदर्शनी केन्द्र मात्र नभई सुक्खा बन्दरगाहसमेत बनाउने भनिएकाले यसको निर्माण लम्बिएको हो । बृहत् क्षमताका प्रदर्शनी केन्द्र एवं सम्मेलन केन्द्रहरू बनाउँदा सानोतिनो बजेट र हचुवाका भरमा बनाइएका अल्पकालीन योजनाले पनि पुग्दैन । विश्व व्यापार प्रणालीमा आबद्ध भएदेखि नै नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा सहभागिता जनाउँदै आएको छ । विशेषतः निजी क्षेत्रका संस्थाहरूको संलग्नतामा नेपाली उद्यमी–व्यवसायीहरू मात्र होइनन्, सरकारी अधिकारीहरूसमेत यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन पुग्ने गरेका छन् । त्यसैले अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी कक्षहरूको स्तर कस्तो हुनुपर्छ भनेर निजी क्षेत्रका उद्यमी–व्यवसायीदेखि सरकारी अधिकारीहरूसमेत जानकार छन् । प्रदर्शनी कक्षका नाममा फलामे ट्रस्टहरू राखेर टिनले बेर्दैमा त्यसले व्यवस्थित प्रदर्शनी कक्षको अभावलाई पूर्ति गर्दैन ।
न्यूनतम सुविधा भएको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षबाट वर्षौंदेखि असुविधाका बाबजुद जसरी व्यापार मेलाहरू आयोजना हुँदै आएका छन्, यो अवस्थाको अन्त्य गर्नका लागि पनि व्यवस्थित प्रदर्शनी केन्द्र जरुरी भएको हो । यसबाहेक अहिले देश संघीयताको अवधारणामा गइसकेको र देशैभरि व्यापार मेलाहरू आयोजना हुने क्रम बढेकाले अहिलेको परिप्रेक्ष्यमा काठमाडौं उपत्यकाभित्र मात्र होइन, देशभरि नै व्यवस्थित प्रदर्शनी एवं सम्मेलन केन्द्रहरूको निर्माणमा जोेड दिनैपर्छ । बढी सम्भाव्यता भएका र अन्तर्राष्ट्रिय रूपमा पनि आर्थिक–व्यापारिक ढंगले प्रवद्र्धन गर्न सकिने कम्तीमा दुई–तीनवटा प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका मेला तथा सम्मेलन केन्द्रहरू निर्माण गर्ने र तिनमा वार्षिक रूपमा अन्तर्राष्ट्रिय वा क्षेत्रीय व्यापार मेलाहरूको आयोजना गर्ने हो भने नेपाली उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ र बजारीकरणमा योगदान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्