तीनै तहका सरकारसँग समन्वय गरेर मात्र बजेटः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपालः सुखी नेपाली’को लक्ष्य अनुसार प्रभावकारी बनाउनका लागि मन्त्री भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच छलफलको आयोजना गरेका हुन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशको तर्फबाट प्रस्तुतिकरण भएको थियो ।
बैठकमा सातैवटा प्रदेशका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गर्नुभएको थियो । सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालय अन्र्तगतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा जोड दिए । मन्त्रालयले नीति कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने उनले बताए । योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने उहाँको भनाई छ । उनले भने, “सयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।”
मन्त्री भट्टराईले ‘समृद्ध नेपालः सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तिमा एक एक वटा रणनीतिक आयोजनाहरु तय गरिने बताए । उनले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रबद्र्धन र संघीय सरकारले अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धनमा गर्ने गरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।
प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना हुनु सकारात्मक भएको बताए । उनीहरुले बजेटलाई छरपष्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दिर्घकालिन महत्वको रणनीतिक पर्यटकीय योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटन बिकासको लागि पर्यटन भौतिक पूर्वाधार पहिलो शर्त रहेको भन्दै उनीहरुले भौतिक पूर्वाधार निर्माणमा जोड दिए ।