राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस केन्द्रीय समिति बैठक

राष्ट्रपतिको उम्मेदलवार तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्फत बैठक आव्हान गरिए पनि विषय भने खुलाइएको छैन ।
तर, बुधबार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुने भएकाले बैठक सोही विषयमा केन्द्रीत हुने एक केन्द्रीय सदस्यले बताए । स्रोतका अनुसार मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउने गृहकार्य भइरहेको छ । तर, वाम गठबन्धनका तर्फबाट एमालेले विद्यादेवी भण्डारीलाई अघि सारेको अवस्थामा भने महिला उठाउनुपर्ने मत कांग्रेसभित्र रहेको ती केन्द्रीय सदस्यले बताए । केन्द्रीय समिति बैठकले राष्ट्रपतिको उम्मेदवारको औपचारिक निर्णय गर्नेछ । त्यस्तै बैठकमा उपराष्ट्रपति, सभामुख, उपसमुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका बारेमा पनि छलफल हुनेछ ।
राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ । संसद्मा एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने निश्चित छ ।