निजगढ विमानस्थल पाँच वर्षमै : भट्टराई «

निजगढ विमानस्थल पाँच वर्षमै : भट्टराई

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरूको पूर्वाधार विकासका लागि पाँच वर्षमा ३ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा पूर्वाधार विकासका लागि पाँच वर्षमा ३ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको हो ।
प्राधिकरणले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी उक्त योजना सार्वजनिक गरेको छ । । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्वाधार विकासका लागि मात्रै २ खर्ब ५५ अर्ब रुपैयाँ खर्च हुनेछ । जसमध्य २ खर्ब ५० अर्ब पूर्वाधार विकासमा र ५ अर्ब जग्गा प्राप्तिमा खर्च गरिने छ । निजगढ अन्र्तराष्ट्रिय विमानस्थलमा १ खर्ब ५० अर्ब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० देखि ५० अर्ब र बाँकी गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खर्च हुने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यस्तै, उनले आन्तरिक विमानस्थलमा जग्गा प्राप्ती र पूर्वाधार विकासका ७७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने योजना रहेको पनि जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणले गत दुई वर्षमा विमानस्थलहरूको पूर्वाधार विकासका लागि ८९ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । जसमध्य अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तिका लागि ३३ अर्ब र पूर्वाधार विकासका लागि ४९ अर्ब तथा आन्तरिक तर्फ जग्गा प्राप्तीका लागि १ अर्ब र पूर्वाधार विकासका लागि ६ अर्ब रुपैयाँ खर्च गरिसेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले अबको पाँच वर्षमा नागरिक उड्ययन क्षेत्रमा ठूलो क्रान्तिकारी पडको मार्ने बताए । उनले पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलतर्फ ठूलो लगानी गरेर मुलुकमा वार्षिक १ करोड पर्यटक ल्याउने लक्ष्यका साथ काम थालनी भएको पनि बताए । मन्त्री भट्टराईले गेमचेन्जर आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अबको पाँच वर्षमा निर्माण सम्पन्न गरी व्यावसायिक उडान थालनी गर्ने पनि बताएका छन् । उनले काठमाडौंको चापलाई कम गर्न पनि सो विमानस्थलको निर्माण कार्य सम्पन्न गर्न अर्जुनदृष्टिका साथ अगाडी बढ्न आवश्यक रहेको बताए ।
मन्त्री भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न हुने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र सम्पन्न हुने पनि बताएका छन् । मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याश गत मंसिरभित्रै गर्ने तयारी गरे पनि रुख कटानको विषयमा विवाद भएपछि रोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्