समर्थन मूल्यभन्दा कममा उखु बेच्दै किसान

धनगढी-उखु किसानले चिनी मिलबाट भुक्तानी नपाएको चर्चा सेलाएको छैन तर सुदूरपश्चिमका उखु किसानले भने उखुको समर्थन मूल्य नै पाएका छैनन् । उनीहरूले चिनी मिल सञ्चालकहरूले सरकारको तोकेको समर्थन मूल्यभन्दा कम मुख्यमा उखु किनिरहेको बताएका हुन् । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । तर, उद्योगले आफूहरूलाई प्रतिक्विन्टल ३६३ रुपैयाँ ९७ पैसाका दरले मूल्य दिने गरेको किसानहरूले बताएका छन् ।
कञ्चनपुरका उखु किसानले महाकाली सुगर मिल र भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रिजलाई उखु बिक्री गर्दै आएका छन् । उखु किसानले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सोझै अनुदान पाउने व्यवस्था गरिएको छ । सुगर मिलहरूले सरकारले तोकेको समर्थन मूल्यमा अनुदान वापतको रकम घटाएर उखु किसानलाई भुक्तानी दिने गरेका छन् । किसानले अनुदानवापतको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयलबाट पाउने व्यवस्था गरिएको छ ।
कञ्चनपुरको पुनर्बास नगरपालिका–१० विकासवस्तीमा उखु किसान राजेन्द्र रानाले ७१ क्विन्टल ४१ किलो उखु बिक्री गरेवापत पुस २९ गते भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजबाट २९ हजार छ सय ३५ रुपैयाँ भुक्तानी पाए । राजेन्द्रले १५ कठ्ठा जग्गामा उखु खेती गरिरहेका छन् । विकासवस्तीकै घुमन रानाले पनि भागेश्वर सुगर इन्डस्ट्रिजलाई ९९ क्विन्टल ९२ किलो उखु बिक्री गरेवापत् ३६ हजार ३६८ रुपैयाँ पाएको बताए ।
कञ्चनपुरका उखु किसानहरूले सुगर मिलले उखुको जातका आधारमा रकम भुक्तानी गरेको बताए । उखु किसान रामनाथ रानाका अनुसार अर्ली, जर्नल र रिजेक्ट गरी तीन जातका उखुका आधारमा भुक्तानी पाउने गरिएको छ । अर्ली जातको उखुलाई एक नम्बर मानिन्छ । सुगर मिलले अर्ली जातको उखुको प्रतिक्विन्टल ४४० रुपैयाँ र जर्नलको ४१५ तथा रिजेक्ट जातको उखुको प्रतिक्विन्टल चार सय रुपैयाका दरले भुक्तानी दिने गरेका छन् ।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष रमेश थापाले अझैं पनि सरकारले निर्धारण गरेको मूल्य नपाएको बताए । “हामीले पटक पटक यसबारे सुगर मिल व्यवस्थापनसंग छलफल ग¥यौं,” उनले भने, “तर अझैं हाम्रो माग पुरा भएको छैन ।” भागेश्वर सुगर मिलका सञ्चालक शंकर बोगटीले छिट्टै सरकारले तोकेको उखुको समर्थन मूल्य लागू गर्ने क्रममा रहेको बताए । उनले सरकारले गत पुस १० गते उखुको समर्थन मूल्य तोकेको र पुस ११ गतेदेखि खरिद भएको उखुको समर्थन मूल्य अनुसारकै रकम भुक्तानी गरिने बताए । उनले महाकाली र भागेश्वर सुगर मिलको संयुक्त बैठकले सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरका अधिकांश किसानले सुगर मिलले समयमै उखु खरिद नगरेका कारण सास्ती भोग्नुपरेको बताएका छन् । पुनर्वास नगरपालिका–१० का नाथे रानाले एक बिघामा लगाएको उखु खरिद गर्न ढिलाई भएका कारण अहिले जमिन बाझो राख्न बाध्य भएको बताए । अर्का उखु किसान टेकराज रानाले अहिले उखु काटिरहेको बताए । “सुगर मिलले बल्ल माग ग¥यो, त्यही भएर अहिले काटिरहेको छु,” उनले भने, “त्यसपछि जमिन बाझो राख्नु पर्ने बाध्यता छ ।”
उखु खरिदबिक्रीमा विचौलिया
कञ्चनपुर पुनर्वास नगरपालिका–१० विकासवस्तीका रामबहादुर रानाले एक साता लगाएर उखु काटे । ढिलो भएका कारण खेतमै उखु सुक्न लागेपछि उनी उखु बिक्रीबारे कुरा गर्न सुगर मिल गए । तर, सुगर मिलले उनलाई उखु काट्न भनेन । “एकातर्फ खेतमा उखु सुकिरहेको थियो, अर्कोतिर गहुँ लगाउने हतारो थियो,” किसान रामबहादुरले भने, “अनि मैले उखु काटे । तर, करिब दुई सातासम्म पनि काटेको उखु खेतमै रह्यो ।” अर्का उखु किसान जगत रानाले पनि काटेको उखु खेतमै झारपातले छोपेर राखेका छन् । उनका अनुसार केही किसानले विचौलियाको माध्यमबाट उखु बिक्री गरिरहेका छन् । विचौलियामार्फत बिक्री गर्दा किसानले सही मूल्य पाउदैनन् । “कतिपय किसानले विचौलियामार्फत पनि उखु बिक्री गरेका छन्,” उनले भने, “तर, मैले कम मूल्यमा बिक्री गर्न चाहिन । परिणामस्वरुप मेरोे उखु खेतमै थन्किएको छ ।”
भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रिजका प्रशासन अधिकृत डम्बर खड्काले विचौलियालाई उखुको तौलपुर्जी नदिएको बताए । उनले सुगर मिलको क्षमता दैनिक १५ देखि २० क्विन्टल उखु पेल्ने रहेको र किसानले त्यो क्षमताभन्दा बढि उखु काट्दा समस्या हुने गरेको बताए । “हामीले सात स्थानमा उखु खरिद केन्द्र तोकेका छौं,” उनले भने, “सबै केन्द्रका लागि बराबर संख्यामा तौलपुर्जी वितरण गर्ने गरेका छौं, तर कहिले काही किसानले बढी उखु काटेपछि खरिदमा केही समस्या हुने गरेको छ ।”