Logo

भारतीय गाडीमा स्टिकर टाँसेर कोशी पर्यटन अभियानको सुरु

विराटनगर– कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ । जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेका हुन् । आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो ।

भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दु:ख दिने गरेको गुनासो आएपछि अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो । स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टाँसेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दु:ख हट्ने बताए । यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनको दाबी थियो । नेपालीहरूको मूल मर्म ‘अतिथि देवो भव:’ भएकाले अतिथिको सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै मुख्यमन्त्री कार्कीले अतिथिलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रहसमेत गरे । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे । कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि जोबनी, पशुपतिनगर, काँकडभिट्टा र भन्टाबारी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर कार्यालयसमेत स्थापना गरी उक्त काम अगाडि बढाइएको छ । कोशी प्रदेश सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘प्रदेश पर्यटन भ्रमण वर्ष २०८२’ घोषणा गरेको छ ।

तेह्रथुमको तीनजुरेमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको घोषणा गरेका थिए । प्रदेश सरकारले भ्रमणका लागि १० करोड रुपैयाँ छुट्याएको छ । पूर्वाधार निर्माणमा भन्दा भ्रमण वर्ष मनाउने नाममा ठूलो रकम छुट्याएकोमा नागरिक समाजले असन्तुष्टि व्यक्त गर्दै आएको छ । पूर्वाधारको विकास भए पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाइरहनु नपर्ने नागरिक समाजका अगुवा रामबाबु दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्