सभामुख सापकोटाद्वारा शपथ र पदभार ग्रहण «

सभामुख सापकोटाद्वारा शपथ र पदभार ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

‘जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ’
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् ।
सभामुख पदको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु,” उनले भने, “केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।”
सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसदमा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले एमसिसीसम्बन्धी सहयोग लिने÷नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे । “एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु,” उनले भने ।
सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए । उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए ।
पहिलो औपचारिक भेट चिनियाँ राजदूतसँग
सोमबार पद तथा गोपनियताको सपथ लिएका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् । सभामुखमा शपथ लिएर सिंहदरबारस्थित कार्यकक्षमा पुगेका सापकोटालाई भेट्न राजदूत होउ सिंहदरबार पुगेकी हुन् । उनी नवनिर्वाचित सभामुख सापकोटासँग औपचारिक भेट गर्ने पहिलो कूटनीतिज्ञ हुन् ।
भेटमा चिनियाँ राजदूत होउले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष ली चान्सुको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले अध्यक्ष लीले पठाएको सन्देश सुनाउँदै राजदूत होउले नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
भेटका क्रममा सभामुख सापकोटाले राजदूत होउलाई आफ्नो तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई धन्यवाद सन्देश सुनाइदिन अनुरोध गरेका थिए । त्यस्तै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गरे ।
सभामुख सापकोटाले नेपालको प्रतिनिधिसभाले चिनियाँ जनकंग्रेससँग विविध पक्षमा साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेका थिए ।

 
नेकपाबाट राजीनामा
सभामुख अग्निप्रसाद सापकोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सदस्यबाट आफू अलग्गिएको बताएका छन्। सोमबार सभामुखमा सपथग्रहण गरेपछि विज्ञप्ति निकालेर सापकोटाले राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट आजैदेखि अलग रहेको उल्लेख गरेका हुन् ।
सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न नेकपाबाट अलग भएको उनले उल्लेख गरेका छन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सभामुख सापकोटाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्