सरकारमा जाने विषयमा राजपामा छलफल «

सरकारमा जाने विषयमा राजपामा छलफल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग उपसभामुख र सरकारमा जाने विषयमा छलफल गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा यी दुई दलले एक अर्कालाई सघाएर एक अर्काका उम्मेदवारलाई जिताएर विश्वासको वातावरण बनाएका छन् ।
नेकपा र राजपा नेपालबीच यही माघ २ गते २ बुँदे भएको सम्झौता अनुसार राजपाले राष्ट्रिय सभामा आफ्ना उम्मेदवार मात्रै जिताएन, प्रतिनिधिसभाको सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटालाई समर्थन पनि ग-यो ।
राष्ट्रिय सभा निर्वाचनमा जित सुनिश्चित गर्न नेकपा र राजपा दुवैले रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीसँग सम्झौता गरेका थिए । त्यसमा राजनीतिक सहकार्य अगाडि बढाउने सम्झौता गरिएको थियो ।
तर राजपाका नेताहरूले त्यही सम्झौतालाई टेकेर सरकारमा जान गरेको प्रयासको विरोधमा राजपाका केही नेताहरूले पहल अगाडि बढाएका छन् ।
नेकपा र राजपा गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नेकपाका नेताहरू अगाडि आएका छन् । नेकपाको सचिवालय सदस्य तथा उपप्रधानमन्त्री एवं रक्षमन्त्री ईश्वर पोख्रेलले पनि राजपासँगको गठबन्धनको आवश्यकतामा जोड दिएका छन् ।
आवश्यकता र औचित्यका आधारमा संविधानको संशोधन हुने अडानमा रहेका पोख्रेलले राजपासँगको गठबन्धनको आवश्यकता देखेका छन् । राष्ट्रियसभा सदस्यमा नेकपा प्रदेश २ बाट जितेकाहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा पोख्रेलले यस्तो बताएका हुन् ।
उनले भने, “राष्ट्रिय सभा चुनावमा दुवै दलको आवश्यकताले सहकार्य भयो । अब मुलुकको समृद्धिका लागि शुरु भएको अभियानलाई अघि बढाउन यो गठबन्धनलाई अझ विश्वासिलो र सुदृढ बनाउनुपर्छ ।”
यसैगरी नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि राजपासँगको गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा चुनावमा जनताबाट चुनिएका स्थानीय प्रतिनिधिहरूले सत्ताधारी गठबन्धनका उम्मेदवारलाई मत दिएर गठबन्धनलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष साहले यो सहकार्य अगाडि बढाउनुपर्ने बताए ।
राजपा सरकारमा जान लागेको हो ? भनी सोधिएको प्रश्नको जवाफमा राजपाका महासचिव केशव झाले यसबारे कुरा नटुंगिएको बताए । उनले भने, “अब यसबारे पार्टीका नेताहरूले नेकपासँग छलफल अगाडि बढाउनु हुनेछ । पार्टीले अगाडि बढाएका मागहरूको सम्बोधनका लागि ठोस वातावरण निर्माण भएमात्र सरकारमा सहभागिता जनाउनेछ ।”
अध्यक्ष मण्डल बाहेक पार्टीका दोस्रो पंक्तिका नेताहरूले सरकारमा जान नहुने पहल गरिरहेका छन् । पार्टी भित्र र सञ्चार माध्यमको प्रयोग गरेर राजपा सरकारमा जान नहुने विषयमा लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्