Logo

उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ-लमजुङमा सम्पन्न उपनिर्वाचनका उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । मंसिर १४ मा सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदका लागि उम्मेदवार बनेका सबै उम्मेदवारहरुले चुनावी खर्च बुझाउन आनाकानी गरेका हुन् ।निर्वाचन आयोगका अनुसार निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा चुनावी खर्च बुझाउनुपर्ने भए पनि हालसम्म कुनै पनि उम्मेदवारको खर्च विवरण नआएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो । जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्वर २ मा अध्यक्ष पदका लागि उप निर्वाचन भएको थियो ।
निर्वाचनको मतपरिणाम पनि चुनाव भएकै दिन मंसिर १४ मा घोषणा भएसँगै खर्च विवरण बुझाउने मिति पुस १४ सम्म रहेको थियो ।चुनावी खर्चको बुझाउन आवश्यक प्रक्रिया सहित आग्रह गरीएपनि हालसम्म कुनै उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माले बताए । निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारहरुको खर्च विवरण नआएपछि जिल्ला निर्वाचन कार्यालयले सम्वन्धीत वडा सचिव मार्फत उम्मेदवारहरुलाई जानकारी गराएको थियो । तर पुनः स्मरण गराउदा समेत कसैले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ ।  वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा एक स्वतन्त्र सहित पाँच जनाले उम्मेदवारी दिएका थिए । उपनिर्वाचनको मत परिणाम अनुसार नेपाली काँग्रेस र नेकपा बाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको धरौटी समेत जफत भएको छ । 
अघिल्ला निर्वाचनका दुईतिहाई उम्मेदवारको खर्च विवरण बाँकीयसअघि स्थानिय तह, प्रदेश र प्रतिनिधी सभा निर्वाचनका झण्डै आधा भन्दा बढि उम्मेदवारहरुले पनि खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेद्धवार बनेकाहरुले तिनवर्ष पुग्दा पनि निर्वाचन खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
 लमजुङमा तिनवटै निर्वाचनका लागि करिव एकहजार जना विभिन्न पदका उम्मेदवार भएका थिए । उम्मेदवार भईसकेपछि हार होस या जित मतपरिणाम घोषणा भएको ३० दिन भित्र चुनावी खर्च विवरण अनिवार्य बुझाउनुपर्ने हुन्छ । तर निर्वाचन सकिएको एकवर्ष सकिदा एक तिहाई उम्मेदवारले पनि चुनावी खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन पटक पटक सार्वजनिक सूचना जारी गरेको थियो । त्यो बाहेकपनि पटक पटकका अन्तरक्रियाहरुमा राजनितिक दलहरुलाई स्मरण गराउदै आएको छ । सवै उम्मेदवारहरुले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुननै उल्लेख गरेकोले पटक पटक सम्झाईरहनु नपर्ने निर्वाचन कार्यालयको दावि छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म स्थानिय तहमा ९८६ उम्मेदवारमध्ये ३३० जनाले खर्च विवरण बुझाएका छन् ।
यस्तै प्रदेश सभाका १४ जना मध्ये १२ जना र प्रतिनिधिसभा तर्फ ११ मध्ये ६ जनाले मात्र खर्च विवरण बुझाएका छन् । उम्मेदवारहरुले निर्वाचन कार्यालयले दिएको फारममा खर्च उल्लेख गरेको तर विलहरुभने उपलब्ध नगराएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकम भन्दा बढि खर्च भएकोले उम्मेदवारहरुलाई विवरण बुझाउन कठिनाई भएको बुझिएको छ ।निर्वाचन ऐन २०७३, दफा २५ को उपदफा १ अनुसार कुनै राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको विवरण पेस नगरेमा, पेश भएको विवरणमाथि परीक्षण हुँदा लेखा परीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी अथवा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा कारबाही हुने उल्लेख छ ।
त्यस्ता राजनीतिक दल वा उम्मेदवारलाई खर्च बराबरको रकम वा ५ लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, उक्त रकम बराबरको रकम जरिवाना गर्न सकिने समेत ऐनमा उल्लेख छ । तर, उम्मेदवारले भने खर्च विवरण बुझाउने सन्दर्भमा चासो नदिएको कार्यालयले जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्