हिमालय एअरलाइन्सले पोखरा–काठमाडौं–ल्हासा उडान गर्ने

पोखरा– हिमालय एअरलाइन्सले पोखरा र काठमाडौंबाट ल्हासा उडान सुरु गर्ने भएको छ । यही मार्च ३१ तारिखदेखि हप्ताको एक दिन यो रुटमा उडान हुन लागेको हो ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गरे । उनले भने, ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्सले सधैं चीनमा नयाँनयाँ गन्तव्यहरू खोज्दै आएको छ ।’
काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सुरु गर्न लागिएको यो उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै पर्यटन र व्यापारलाई पनि प्रवद्र्धन गर्ने श्रेष्ठले बताए । नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । क्षेत्रीय सञ्जाल विस्तार गर्ने तयारी गरेको कम्पनीले नयाँ रुटको उडानमार्फत नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । यो उडान एअरलाइन्सका लागि एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने कम्पनीले विश्वास लिएको छ ।
मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने भएको हो । प्रारम्भिक योजनाअनुसार काठमाडौं–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा बिहान ८:३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासागोंगर विमानस्थलमा पुग्ने भएको छ ।
त्यसैगरी ल्हासा–पोखरा उडानले ल्हासागोंगर विमानस्थलबाट स्थानीय समय अनुसार मार्च ३१, २०२५ मा १३:१५ बजे उडान भर्ने र सोही दिन नेपाली समयअनुसार १२:४५ मा पोखरा अवतरण गर्ने भएको छ ।
यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १, २०२५ मा स्थानीय समयअनुसार बिहान ८:२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासागोंगर विमानस्थलमा पुग्ने कम्पनीले जानकारी गराएको छ । त्यसैगरी ल्हासा–काठमाडौं उडानले ल्हासागोंगर विमानस्थलबाट अप्रिल १, २०२५ मा स्थानीय समयअनुसार १२:३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२:०५ मा काठमाडौं अवतरण गर्नेछ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
हिमालय एअरलाइन्स नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । यसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्ससँग हाल ४ वटा विमान छन्– तीन एयरबस ३२०– २१४ (१८० इकोनोमी सीट) र एक एयरबस ३१९–११५ (१४४ इकोनोमी सिट) । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।