Logo

पुइलेक विमानस्थलका लागि उपयुक्त

डडेल्धुरामा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका–१ पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता अध्ययन सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि जिल्लामा एक प्राविधिक टोली पठाएको छ । प्राविधिक टोलीले सम्भाव्यता अध्ययनका रूपमा स्थलगत निरीक्षण गरी लम्बाइ चौडाइ लिनुका साथै उक्त क्षेत्रको नक्सा ड्रोन क्यामरामार्फत लिएको छ । त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसन लगायतका कुरालाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीका सदस्य इन्जिनियर नरेश सिवाकोटीले जानकारी दिए ।
“यो पहाडी इलाकाका लागि यतिसम्मको जग्गा एकदमै उपयुक्त हो ।” उनले भने, “१२ सय मिटिर जमिन अहिले देखिन्छ केही बढी वालहरू हालेर बनाउने सकिने सम्भावन पनि छ ।” २०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानमा माग राखेको भए पनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु गराउन सकेको अध्ययन टोली ल्याएर स्थलगत पुगेका नेकपाका नेता डा. तारा जोशीको भनाइ छ । “हाम्रोे २०७० सालदेखिको माग हो । योभन्दा अगाडि पनि विभिन्न स्थानको अध्ययन गराएका थियौं,” उनले भने, “अहिले पुइलेकमा सम्भाव्यता अध्ययन सुरु भएको छ । अरु स्थानमा प्रारम्भिक अध्ययनले नहुने देखाएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन केही समय लाग्ने तथा ईआईए गर्न नै एक वर्ष लाग्ने प्राविधिक टोलीको भनाइ छ । आइतबार गरेको अध्ययनको पनि पूर्णनिश्कर्ष आउन ३ महिना लाग्ने इन्जिनियर सिवाकोटीले बताए । विमानस्थलका लागि आवश्यक धावनमार्गको लम्बाइ, पर्याप्त क्षेत्रफल भएको, क्षेत्रफल मिलेको तर जमिन भिरालो भए पनि राम्रो, धावनमार्ग पहाडले छेक्ने सम्भावनासमेत भएको पाइएको इन्जिनियर सिवाकोटीको भनाइ छ । विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलेकमा कालोपत्रे सडक पहुँच भएकाले ४ वर्षको समयावधि लाग्न सक्ने प्राविधिक टोलिले देखाएको छ । विमानस्थल अध्ययन भइरहेको क्षेत्र डडेल्धुरा सदरमुकामबाट १२ किमि टाढा पर्छ ।

सम्भाव्यता अध्ययनसँगै स्थानीय खुसी
प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीय नागरिक खुसी भएका छन् । लामो समयदेखि चर्चामा रहेका स्थानमा फेरि अध्ययन सुरु भएपछि अब बन्ने आशा लागेको स्थानीय डम्बर साउदले बताए । विमालस्थल आफ्नो स्थानमा बनाउन छिटो पहल गर्ने स्थानीय टेकबहादुर ऐरको माग छ । “हामी भोट दिएर पठाएको विकास गर्न हो ।” उनले भने, “अब हाम्रो ठाउँको विकास विमानस्थलले सम्भव छ, त्यसैले सरकारले छिटो विमानस्थल बनाउनुपर्छ ।” डेल्धुराको अजयमेरु–१ समैजी पुइलेक क्षेत्रमा विमानस्थान निर्माण भए ७ पहाडी जिल्लाका लागि उपयुक्त हुनेछ भने धनगढी नेपालगन्ज हुस्सोलगायतका कारणले उडान बन्द भए यहाँ गर्ने सकिने प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्