प्रदेशको नाम र राजधानीबारे सांसद विभाजित «

प्रदेशको नाम र राजधानीबारे सांसद विभाजित

हेटौंडा-प्रदेश नम्बर ३ को बुधबारको प्रदेशसभाबाट स्थायी राजधानीको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले डेढ वर्षअघि नै प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि बुधबारबाट छलफल सुरु भएको हो ।
सांसद दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन समितिले २०७५ असार २६ गते नै प्रदेशसभामा प्रतिवेदन पेश गरिएता पनि सो प्रतिवेदनमाथि छलफल हुन सकेको थिएन । सोही प्रतिवेदनलाई आधार मानी राजधानी तोक्ने कार्यविधिसमेत बनाइए पनि प्रतिवेदनमाथिको छलफल भने डेढ वर्ष ढिलो गरी सुरु भएको हो । प्रतिवेदनमाथि बोल्ने प्रदेशसभा सांसदहरू स्थायी राजधानीको विषयमा विभाजित देखिएका छन् । बैठक बुधबार बोल्ने २१ जना सांसदहरूमध्ये अधिकांशले हेटौंडा र काभ्रेको पक्षमा वकालत गरेका छन् ।
चितवन, मकवानपुर, सिन्धुली जिल्लाका सांसदले स्थायी राजधानी हेटौंडा हुनुपर्ने धारणा राखेका छन् भने काभ्रेका सांसदहरूले काभ्रेलाई नै स्थायी राजधानी बनाउनुपर्ने अडान लिए । ललितपुर र भक्तपुरका केही सांसदले राजधानी भक्तपुर हुनुपर्ने धारणा राखे । केही सांसदले भने कुनै पनि स्थान विशेषमाथि खुलेर कुरा गरेनन् ।
नेपाली कांग्रेसबाट चितवनबाट प्रतिनिधित्व गर्ने सांसद बलराम पौडेलले सबै दृष्टिकोणले हेटौंडा नै उचित रहेको बताए । तत्कालीन मध्यमाञ्चल क्षेत्रको १९ वटा जिल्लाको सदरमुकाम रहेको हेटौंडा भौगोलिक तथा भौतिक पूर्वाधारको हिसाबले प्रदेश राजधानी उचित रहेको उनको भनाइ थियो । सडक सञ्जालको विस्तारको कारण पनि हेटौंडा प्रदेशको मध्ये भागमा पर्ने देखिएको उनको तर्क थियो ।
नेकपा सांसद शशीजंग थापा र काँग्रेस सांसद कृष्णप्रसाद भडेलले भने सबै हिसाबले प्रदेशको राजधानीको रुपमा भक्तपुर उपयुक्त रहेको धारणा राखे । केन्द्र सरकारसँग पनि नजिक रहेकाले समन्वय र सहकार्य गर्न सहज हुने उनीहरूको तर्क थियो ।
नुवाकोटका सांसद हिरानाथ खतिवडाले भने राजधानी नुवाकोट लैजानुपर्ने तर्क प्रस्तुत गरे । उत्तरी नाकालाई जोड्ने गरी नुवाकोटलाई राजधानी बनाउदा उचित हुने उनको भनाइ थियो । कांग्रेस सांसद विजया केसी, गीता वाग्ले नेकपा सांसद विजय सुबेदी, राप्रपाकी सांसद रिता माझीलगायतले हेटौंडालाई स्थायी राजधानी बनाउनुको विकल्प नरहेको बताए । हेटौंडाबाट अन्यत्र राजधानी लैजाँदा प्रदेशको विकास ५ वर्ष पर धकेलिने उनीहरूको तर्क थियो । “सबैलाई आफ्नो घरको डिलमै राजधानी चाहिएको छ । यसरी कसरी सम्भव हुन्छ ? हेटौंडामा स्थापित भइसकेको राजधानीलाई काभ्रे वा अन्यत्र कतै लैजानु भन्नु मुखको तितो मात्रै हो ।” कांग्रेस चितवनकी सांसद गीता वाग्लेले भनिन् ।
कांग्रेस सांसद नरोत्तम वैद्य, नेकपा सांसद लक्ष्मण लम्साल, शान्तिप्रसाद पौडेल, चन्द्र लामा र गोमा भूर्तेलले प्रदेशको स्थायी राजधानी काभ्रे नै हुनुपर्ने तर्क गरे । प्रदेशको ७७ प्रतिशत जनता र करिब ८० प्रतिशत भूगोललाई काभ्रे राजधानी राख्दा पायक पर्ने उनीहरूको भनाइ थियो । “नम्बरी सुनलाई कसी लगाउनु पर्दैन, काभ्रेलाई राजधानी बनाउनेबारे सोचिरहनु नै पर्दैन । १३ वटै जिल्लाको केन्द्र भागमा काभ्रे रहेको छ ।” काभ्रे राजधानी हुनुपर्छ भनी सभामा प्रस्ताव दर्ता गराएका सांसद चन्द्र लामाले भने ।

मुटुमाथि ढुङ्गा राखी….
नेकपाको सचिवालय बैठकले प्रदेश राजधानी हेटौंडा र नाम बागमती कायम गर्न निर्देशन जारी गरेसँगै त्यसको मानसिक असर नेकपाका सांसदहरूमा देखिएको छ । बुधबारको बैठकमा बोल्ने कतिपय सांसदले स्थायी राजधानी रहने स्थानको बारेमा खुलेर बोलिरहँदा आधा दर्जनभन्दा बढी सांसदहरू भने त्यसबारे मौन रहे । उनीहरूले प्रक्रियागत ढंगले उपयुक्त स्थानलाई राजधानी बनाउनुपर्छ भनेता पनि स्थानबारे भन्न बोल्न चाहेनन् ।
बैठकमा नेकपा सांसद विशाल खड्का, कांग्रेस सांसद पुकार महर्जन, नेकपाकी प्रतिमा श्रेष्ठ, मीना ज्ञवाली, इन्द्रमाया गुरुङ र रमा आलेमगरले भने स्थायी राजधानीको विषयमा कुनै भूगोल विशेषको कुरा उठान गरेनन् । १० औं नम्बरमा बोल्ने काभ्रेका नेकपाका सांसद बसुन्धरा हुमागाईंले भने पार्टीको निर्देशनलाई मान्न विवश भएको भन्दै आफूहरू लाचार रहेको आशयको भनाइ राखेका थिए । आफूले सदैव काभ्रे नै स्थायी राजधानीको लागि उपयुक्त हुने तर्क गरिरहेको बताउँदै हुमागाईंले तर, पार्टीको निर्णय भने फरक रहेकोप्रति कटाक्ष गरे । “सबै हिसाबले राजधानीको लागि काभ्रे नै उचित रहेको छ । सबैलाई पायक पर्ने स्थान पनि काभ्रे नै हो । तर, के गर्नु सबैकुरा हामीले भनेजस्तो नहुँदो रहेछ । नारायण गोपालको मुटुमाथि ढुंगा राखी हास्नुप¥या छ भन्ने गीत यतिबेला याद आइरहेको छ ।” उनले भावुक भई यस्तो भनिरहँदा प्रदेशसभा हल भने पूरै हाँसोले गुञ्जिएको थियो ।
समितिको प्रतिवेदनमाथि बोल्ने क्रम जारी रहेको छ । प्रदेशसभाको अर्को बैठक आज (बिहीबार) दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा पनि सांसदहरूले स्थायी राजधानी र नामाकरणबारे आफ्नो धारणा राख्नेछन् । स्थायी राजधानी कहाँ राख्ने भन्नेबारे अन्तिम धारणा बनाउन नेकपा संसदीय दलको बैठक पनि आज पुनः बस्दैछ । बिहान ८ बजेको लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्