Logo

मेला-महोत्सवमार्फत आर्थिक समृद्धि

यतिबेला देशका विभिन्न स्थानमा मेला, महोत्सव र प्रदर्शनीहरूको सिलसिला चलिरहेको छ । विशेष गरी दसैंतिहार आसपासदेखि वैशाखसम्म यस्ता महोत्सव, औद्योगिक मेला, व्यापार मेला र प्रदर्शनीहरू हुने गरेका छन् । व्यापार–व्यवसायको प्रवद्र्धन, वस्तु र सेवाको बजारीकरण एवं स्थानविशेषका मौलिक संस्कृतिको जगेर्ना र संवद्र्धन गर्ने मूल उद्देश्यले आयोजना गरिने यस्ता मेला–महोत्सवहरूले विभिन्न आयामबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने गर्छन् ।

स्थानीय स्तरमा प्रदेश सरकार, स्थानीय सरकार, उद्योगी–व्यवसायीका संघ–संगठन, गैरसरकारी संस्था, नागरिक समाजका संगठन, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय समुदायको आयोजनामा यस्ता महोत्सवहरू हुने गर्छन् । कतिपय मेला–महोत्सवलाई नेपाल सरकारका विषयगत मन्त्रालय र नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आएको छ । मूलतः देशभित्र हुने यस्ता मेला–महोत्सवहरूमा स्थानीय सरकार र गैरसरकारी क्षेत्रकै अग्रणी भूमिका रहँदै आएको पाइन्छ । देशका विभिन्न भूभागमा अभियानकै रूपमा मेला–महोत्सवहरू आयोजना गरिनुले निजी क्षेत्र वा उद्यमी–व्यवसायीहरूमा उत्साहको सञ्चार भइरहेको र अर्थतन्त्र सुधारका दृष्टिले पनि सकारात्मक मान्न सकिन्छ । बर्सेनि लाखौं मानिस संलग्न हुने र ठूलै आकारको आर्थिक कारोबार हुने यस्ता मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई गतिशील तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेका देखिन्छन् ।

मेला–महोत्सवहरूले आर्थिक अवसरको व्यापक सृजना गर्छन् । स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान बनाउने अवसरका रूपमा मेला–महोत्सवको भूमिका रहन्छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीले महत्व पाउने भएकाले बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने अवस्था रहन्छ । कृषि र पशुजन्य स्थानीय उत्पादनका अतिरिक्त ठूला औद्योगिक उत्पादनलगायतका उत्पादक र उपभोक्ताहरूको आमनेसामने हुने थलोका रूपमा मेला–महोत्सव रहेका हुन्छन्, जसबाट उत्पादकहरूले आफ्ना उत्पादनको प्रवद्र्धन, उपभोक्ता सर्वेक्षण र बजारीकरणमार्फत बजार संरचनाको आधार निर्माण गर्ने अवसर प्राप्त गर्छन् । कच्चा पदार्थदेखि उत्पादित अन्तिम वस्तुसम्मको बजार यस्ता मेला–महोत्सवहरूमा रहेको हुन्छ ।

ठूला औद्योगिक घराना र स्थानीय समुदायको जमघटमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रको ‘फ्युजन’ हुने अवसरका रूपमा यस्ता मेला–महोत्सव रहेका हुन्छन् । त्यसैगरी मेलाका अवलोकनकर्ता वा उपभोक्ताहरू यस्ता अवसरमा दिइने विभिन्न छुट र अफरहरूबाट लाभान्वित हुनुका साथै वस्तु तथा सेवाको छनोटको अवसर प्राप्त गर्छन् । उत्पादक एवं उद्योगी–व्यवसायीहरूसँग सिधै अन्तरक्रिया गर्ने र पृष्ठपोषण दिने मौकासमेत आम उपभोक्तालाई यस्तै अवसरहरूमा जुट्छ । समय–समयमा हुने यस्ता अवसरहरूमा कृषक, उद्योगी, व्यवसायी र उपभोक्ताहरूको उत्साह, सक्रियता र जागरुकताले उद्यमशीलताको विकास गर्नमा समेत टेवा पुग्छ ।

मेला, महोत्सव र प्रदर्शनीहरू पर्यटन प्रवद्र्धनका सशक्त माध्यम पनि हुन् । यस्ता गतिविधिले केही हदसम्म विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने र मूलतः आन्तरिक पर्यटनलाई प्रत्यक्ष रूपमा बढोत्तरी गरिरहेको पाइन्छ । मेला–महोत्सवको अवलोकन गर्न एवं वस्तु र सेवाको खरिदबिक्री गर्न टाढाटाढाबाट मानिसहरूको घुइँचो मेलास्थलमा लाग्ने गर्छ । हाम्रो सन्दर्भमा मेला–महोत्सवहरू सञ्चालन गरिने यो सिजन बाह्य पर्यटक आगमन कम हुने सिजन हो । सामान्यतया डिसेम्बर र आसपासका महिनाहरू बाह्य पर्यटक आगमनका हिसाबले ‘लो सिजन’ मानिन्छ । यो समयमा मुलुकभित्र आयोजना हुने मेला–महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलिरहेका हुन्छन् । यसबाट मेलाका आयोजक एवं बाह्य र स्थानीय व्यवसायीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् नै, साथै पर्यटन प्रवद्र्धनका कारण अप्रत्यक्ष रूपमा विभिन्न लाभको सिर्जनासमेत हुने गर्छ ।

मेला–महोत्सवहरूमा छोटो समयका लागि भए पनि स्थानीय मजदुरहरूलगायत व्यापारिक स्टलहरूमा रहने कामदारलाई राम्रो रोजगारीको अवसर सिर्जना हुने गर्छ । दीर्घकालमा मेला–महोत्सवमार्फत स्थानीय र राष्ट्रिय उत्पादनहरूको अभिवृद्धि भई रोजगारीका व्यापक अवसरहरूको सिर्जना हुने परिस्थिति निर्माणमा रहने भूमिका त छँदै छ; मेला–महोत्सवहरूमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमको महत्व पनि निकै उच्च रहने गर्छ । मेलामा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने हुँदा स्थानीय संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धन हुन्छ । मेला–महोत्सवले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूलाई व्यस्त बनाउने गर्छ । यस वर्ष पनि कलाकारहरूलाई मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ भएका समाचारहरू सार्वजनिक भएका छन् । यसबाट संस्कृतिको जगेर्ना हुनुका साथै कलाकारहरूले काम र दाम पाउने, मेला–महोत्सव आयोजकहरूको आम्दानी वृद्धि हुने एवं स्थानीय दर्शक–श्रोताले मनोरञ्जनको अवसर प्राप्त गर्छन् ।

स्थानीय स्तरमा हुने मेला र प्रदर्शनीहरूले स्थानीय कृषि एवं पशुजन्य उपज, घरेलु तथा हस्तकलाका सामानलगायत स्थानीय उत्पादनलाई समेत प्रवद्र्धन र प्रोत्साहन गर्न सहयोग पुग्छ । स्थानीय स्तरमै उत्पादन भएका कृषिजन्य र औद्योगिक वस्तुले मेलामार्फत प्रवद्र्धनसँगै बजारीकरणको अवसर प्राप्त गर्छन् । मेला–महोत्सव र प्रदर्शनीकै लागि कृषकहरूमा आफ्ना उत्पादनलाई उत्कृष्ट तुल्याउन लामो समयदेखि मेहनत र परिश्रम गर्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ । यसैगरी क्षेत्रीय र राष्ट्रिय स्तरमा हुने औद्योगिक व्यापार मेलालगायतले राष्ट्रिय औद्योगिक उत्पादनहरूको बजारीकरण र प्रवद्र्धन गर्ने सशक्त माध्यमका रूपमा भूमिका खेल्छन् ।

देशमा औद्योगिक विकासको गतिलाई अगाडि बढाउने दिशामा यस्ता अवसरहरू कोसेढुंगाका रूपमा रहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय व्यापार मेला तथा महोत्सव पनि हुने गरेका छन् । यस्ता महोत्सवमा विदेशी उत्पादनहरू र उद्यमीको सहभागिता रहने गर्छ । विदेशमा विकास भएका नवीन प्रविधिहरूका बारेमा ज्ञान लिने र प्रविधि हस्तान्तरणका लागि पनि मेला–महोत्सवहरूको भूमिका रहन्छ । यही अवसरमा हुने गरेका ‘बिजनेस टु बिजनेस’ (बिटुबी) बैठकहरूले स्वदेशमा उत्पादित वस्तु र सेवाका बारेमा विदेशी सहभागीहरूलाई जानकारी पुग्ने अवस्था सिर्जना हुने गरेको पाइन्छ ।

स्थानीय स्तरमा मेला–महोत्सवहरूको आयोजना भएकै कारण ती स्थानमा भौतिक एवं सामाजिक विकासको ढोका खुलेको र मुहार फेरिएका विभिन्न उदाहरणहरू छन् । कतिपय मेला–महोत्सवमा जनप्रतिनिधिलगायत विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको समेत उपस्थिति रहने र स्थानीय स्तरमा विद्यमान समस्या र कठिनाइहरूलाई नजिकबाट बुझ्ने एवं समाधानका लागि आवश्यक पहल गर्ने अवसरसमेत यस्ता मेला–महोत्सवहरूले जुटाउने गर्छन् । साथै, मेलाबाट आर्जन भएको आम्दानीको निश्चित हिस्सा त्यही क्षेत्रमा स्कुल, कलेज र स्वास्थ्य संस्थाहरू निर्माण गर्ने, बाटोघाटो, कुलो, पैनी आदि निर्माण गर्नेजस्ता सामाजिक र भौतिक विकासका क्षेत्रहरूमा लगानी गर्ने गरेका समाचारहरू पनि सञ्चारमाध्यमहरूमा आउने गरेका छन् । यसबाट मेला, महोत्सव र प्रदर्शनीहरूका कारण देशको चौतर्फी विकासका लागिसमेत केही हदसम्म टेवा पुगिरहेको छ ।

पछिल्लो समयमा मेला–महोत्सवका सन्दर्भमा केही विकृतिहरू पनि देखा परेका छन् । मेला–महोत्सवको आम्दानी र खर्च अपारदर्शी हुने गरेका र केही स्थानीय आयोजकले मेला–महोत्सवलाई कमाउने अवसरका रूपमा दुरुपयोग गरेका गुनासाहरू सुनिने गरेका छन् । मेला–महोत्सवका क्रममा सुरक्षा व्यवस्थापन कमजोर भई झैझगडा र मारकाट हुने गरेका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् । अर्कातर्फ, टोलैपिच्छे मेला–महोत्सव आयोजना गरिँदा यसको गुणस्तर कायम गर्न नसकिएको अवस्था पनि विद्यमान छ । यो स्थितिमा सरकारले मेला–महोत्सवको गुणस्तरीयता कायम राख्दै यस्ता अवसरलाई थप व्यवस्थित बनाउन यससम्बन्धी मापदण्ड वा निर्देशिकाको तर्जुमा र कार्यान्वयन गर्न–गराउन जरुरी देखिएको छ ।

मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान र मजबुत तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउनुका साथै अन्य विभिन्न आयामबाट देश विकासमा योगदान गरिरहेका छन् । अतः सरकारी तवरबाटै निजी, सहकारी एवं सामुदायिक क्षेत्रहरूसँग समेत साझेदारी गर्दै यस्ता अवसरहरूको निरन्तरतासहित प्रवद्र्धन गर्न, गुणस्तरीयता कायम गराउन र सन्तुलित रूपमा मेला–महोत्सवहरूको आयोजना गरी प्रोत्साहित गरिन अपरिहार्य देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्