एनआरएनएद्वारा आईसीसी र मानार्थ सदस्य मनोनित

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइसीसी सदस्य र मानार्थ सदस्य मनोनित गरेको छ । एनआरएन आइसीसीको शनिबारको बैठकले २१ आइसीसी सदस्य र ५१ मानार्थ सदस्य सर्वसम्मत मनोनयन गरेको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्य, मानार्थ सदस्य मनोनित र विभिन्न विभागिय जिम्मेवारी समेत तोकेको एनआरएनका प्रवत्ता डिबी क्षेत्रीले जानकारी दिए । आफू निकटका मात्र मानार्थ सदस्य चयन भएकोमा धेरैले आपत्ती जनाएका छन् । संघका प्रवत्ता क्षेत्रीले मानार्थ सदस्य अझै थपिने भएकाले विवाद नझिक्न अनुरोध गरेको रोजगार मञ्चले जनाएको छ ।
बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग सहकार्य गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको समेत प्रवक्ता क्षेत्रीले जानकारी दिए । मनोनित हुने सदस्यहरुमा मध्यपूर्वबाट कतारका अब्दुल वासिद, यूएई नविन पौडेल र साउदी अरवकी यास्मिन वेगम चयन भएका छन् । अमेरिका क्षेत्रबाट पासाङ्ग शेर्पा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला छानिएका छन् । युरोप क्षेत्रबाट रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पमु र गुणराज शर्मा रहेका छन् । अष्ट्रेलिया क्षेत्रबाट डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य मनोनित भएका छन् ।
एशिया क्षेत्रबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शनिबार नै बसेको बैठकले ५१ सदस्यीय मानार्थ परिषद समेत मनोनित गरेको छ । करिब १० घण्टा लामो बैठक सम्पन्न भएर निर्णय सार्वजनिक हुन नपाउँदै मानार्थ परिषद सदस्यहरुले राजिनामा दिन शुरु गरेका छन् । एनआरएनमा अझै मानार्थ सदस्य थप गर्ने भएकाले विवाद नझिक्न प्रवत्ता क्षेत्रीले एनआरएनहरुलाई आग्रह गरेका हुन् ।
एनआरएनए एउटा सामाजिक संस्था भएकाले यसलाई आफ्नो उद्येश्य अनुसार अगाडि बढाउन संघभित्र यस्ता तिक्तताहरु आउन नदिन नेतृत्व सजग हुनु पर्ने आवाज उठिरहेको छ । वैठकले संघका महत्वपूर्ण मानिएका विभागहरुको संयोजक समेत तोकेको छ । एनआरएन लगानी समितिको संयोजकमा कुमार पन्त आफैले लिएका छन् । नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगार संयोजकमा महासचिब डा.बद्री केसीले संहाल्ने भएका छन् । प्रवक्ता क्षेत्रीका अनुसार बैठकले काठमाडौंमा ४ वटा सार्वजनिक शौचालय बनाउने निर्णय गरेको छ । बैठकले लाप्राकमा जस्तापाता बिक्रीबाट संकलन भएको रकम गोर्खा जिल्लाको अर्को क्षेत्रमा च्यारिटी काममा खर्च गर्ने निर्णय पनि गरेको छ । एनआरएनको अर्को बैठक जनवरी दोस्रो साता नेपालमा बस्ने निर्णय गरेको जनाइएको छ ।