Logo

निजी क्षेत्रमा नयाँ पुस्ताको उदय

राजनीतिमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको मुद्दा सधैँ पेचिलो बनिरहँदा व्यापार व्यवसायमा भने छोराछोरीलाई जसरी पनि व्यवसायमा लगाउने प्रचलन देखिएको छ । जिम्मेवारीले नै मानिसलाई परिपक्व बनाउँछ भन्ने महशुस निजी क्षेत्रले गर्नसके पनि राजनीतिमा त्यो विवेक पलाइसकेको देखिँदैन ।

१० वर्षअघि मुलुककै पहिलो आर्थिक दैनिक कारोबार सुरु गर्दा निजी क्षेत्रका जल्दाबल्दा अगुवाहरू निकै प्रसन्न थिए । राजनीतिक खिचातानीका समाचारले भरिने त्यतिबेलाका पत्रपत्रिकामा आर्थिक समाचार कुनै कुनामा आउँदा पनि मख्ख पर्नुपर्ने अवस्था थियो । मुलुकको समग्र आर्थिक क्षेत्रका विषयवस्तुलाई नै प्राथमिकताका साथ प्रकाशन गर्ने उद्देश्यले गैरआवासीय नेपालीको लगानीमा कारोबारको प्रकाशन हुँदा निजी क्षेत्रले आफ्नो प्लेटफर्म सिर्जना भएकाले अपनत्व महशुस पनि गरेको थियो । यस्तै अपनत्व महशुस गर्ने मध्ये एक थिए मुरारका अर्गनाइजेसनका अध्यक्ष– आत्माराम मुरारका । सिमेन्ट उत्पादक संघ र वनस्पति घ्यू उत्पादक संघको समेत नेतृत्व गरिरहेका मुरारका नेपाल उद्योग परिसंघमा पनि उत्तिकै सक्रिय थिए भने उनका छोरा पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघमा । सिमेन्ट, खाद्यान्न, पेन्ट्स, बैंकिङ लगायतका व्यवसायको नेतृत्व गरिरहेका आत्माराम सानासाना जिम्मेवारी पनि आफैं सम्हाल्थे ।
दश वर्षको अवधिमा मुरारका समूहमा निकै परिवर्तन आइसकेको छ । बबरमहलको साँघुरो गल्लीबाट बिजुलीबजारको कर्पोरेट अफिसमा स्थानान्तरण भइसकेको मुरारका समूहले ठूलो फड्को मारिसकेको छ, उनकै छोरा पशुपतिको नेतृत्वमा । बाबु मुरारकाले बाबुले सुरु सिमेन्ट उद्योगलाई नयाँ जीवन दिन होस् वा ट्रेडिङमा नयाँ आयाम थप्न नै किन नहोस् पशुपति एकपछि अर्को सफलताको यात्रामा छन् । पशुपतिमात्र होइन उनकी छोरी श्रुती र भतिज शिरिष अहिले मुरारका समूहको सफलताका पर्याय सावित भइरहेका छन् ।
नेपालको पुरानो औद्योगिक तथा व्यावसायिक घरानाको कुरा गर्ने हो भने अगाडि आउँछ– ज्योति समूह । ज्योति समूह भन्नेवित्तिकै सबैले स्व. मणिहर्ष ज्योतिकै नाम लिन्छन् । ज्योति समूह संस्थागत हुनुअघि अर्थात एक शताब्दी अघिदेखि नै तिब्बत व्यवसायमा संलग्न थियो । समूहकै स्थापना भने १९४० को दशकमा मणिहर्ष ज्योतिले गरेका हुन् । स्व. महिणहर्षले खनेको जगमा यस समूहका अध्यक्ष पद्मज्योति र उपाध्यक्ष डा. रूपज्योतिले नयाँ उचाइमा पु¥याए । पछिल्लो दशकमा भने ज्योति समूह सञ्चालनको काँध चौथो पुस्तामा आइपुगेको छ । पद्मज्योतिका दुई छोरा सौरभ र सुहृद तथा डा. रूपज्योतिका छोरी सुरुची र छोरा अभिक अहिले पूर्णकालिन व्यवसायमा छन् । स्टिल, अक्सिजन, अटोमोबाइल, होम अप्लाइन्सलगायतका व्यवसायमा पायोनियर नै मानिने ज्योति समूह अहिले नयाँ पुस्ताले नै धानेको छ भने पद्मज्योति व्यवसायभन्दा बढी नेशनल बिजनेस इनिसियटिभ्स (एनबीआई) र रूपज्योति पनि विपश्यना केन्द्रमा क्रियाशील छन् ।
मुरारका र ज्योति समूह नेपालमा व्यावसायिक क्षेत्रको कसरी पुस्तान्तरण भइरहेको छ भन्ने उदाहरणमात्र हो । नेपालका अधिकांश व्यवसायीहरू नयाँ पुस्तालाई व्यवसाय हस्तान्तरणलाई व्यवसायजत्तिकै प्राथमिकता दिन्छन् । राजनीतिमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको मुद्दा सधैँ पेचिलो बनिरहँदा व्यापार व्यवसायमा भने छोराछोरीलाई जसरी पनि व्यवसायमा लगाउने प्रचलन देखिएको छ । जिम्मेवारीले नै मानिसलाई परिपक्व बनाउँछ भन्ने महशुस निजी क्षेत्रले गर्नसके पनि राजनीतिमा त्यो विवेक पलाइसकेको देखिँदैन । राजनीतिमा जिम्मेवारी लिन तयार युवाकै कपाल फुलिसक्दा पनि उनीहरू अझै पनि नेतृत्वको मुख ताक्न विवस छन् । तर, निजी क्षेत्रमा भने ठिक उल्टो छ । व्यावसायिक घरानामा जवर्जस्ती जिम्मेवारी बोकाइए पनि निजी क्षेत्रकै संघ संस्थामा समेत नयाँ पुस्ताले नेतृत्व लिन थालिसकेको छ ।

निजी क्षेत्रका संस्थामा युवाकै बर्चस्व
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघभित्र पछिल्लो समय युवा नेतृत्व नै हावी हुँदै गइरहेको छ । महासंघका पछिल्ला दुई अध्यक्षहरू पशुपति मुरारका र भवानी राणासहित आगामी अध्यक्ष शेखर गोल्छाले नयाँ पुस्ताकै प्रतिनिधित्व गर्छन् । विदेशबाट उच्च शिक्षा हासिल गरेका र अन्तर्राष्ट्रिय परिस्थिति बुझेका कारण व्यवसायसँगै विदेशी साझेदार र कुटनीतिक निगोगका प्रतिनिधिसँग पनि ‘फेस टू फेस’ गर्नसक्ने यो पुस्ताबाटै अब महासंघ अघि बढ्ने देखिन्छ । आसन्न साधारणसभामा नेतृत्वका लागि अघि सरेका अञ्जन श्रेष्ठ, सौरभ ज्योति, साहिल अग्रवाल, प्रबलजंग पाण्डे, सन्दीपकुमार अग्रवाल, आनन्द बगरिया, रञ्जित आचार्य, भरत आचार्य, नरेन्द्र खड्का, मनिषलाल प्रधान, ज्योत्सना श्रेष्ठ, राजेशकुमार अग्रवाललगायत अधिकांश युवा नै महासंघ नेतृत्वमा आउने देखिन्छ ।
महासंघमात्र नभइ निजी क्षेत्रकै अर्को संगठन नेपाल उद्योग परिसंघ (सीएनआई)मा पनि युवा नेतृत्व तयार हुँदैछ । विष्णुकुमार अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल, निकोलश पाण्डे, सन्दीकुमार शारडा, सुधीर मित्तललगायतका युवा पुस्ता नेतृत्वका लागि तयार भइरहेका छन् । यता, नेपाल चेम्बर अफ कमर्समा पनि यसै वर्षबाट नेतृत्व हस्तान्तरण भइ युवा व्यवसायी राजेन्द्र मल्लको काँधमा नेतृत्व पुग्दैछ । यसरी नेतृत्वका लागि कपाल फुल्नैपर्छ भन्ने मान्यता निजी क्षेत्रका हकमा भने खण्डित हुँदै गइरहेको छ ।

पुस्तान्तरणमा अग्रणी चौधरी समूह
नेपालमा पुस्ता हस्तान्तरणमा चौधरी समूह सबै व्यवसायीका लागि उदाहरणीय बन्नसक्छ । समूहका अध्यक्ष विनोद चौधरी स्वयं युवा अवस्थामै स्थापित भइसकेका थिए । तर, उनी आफैं संघर्ष गरेर स्थापित भए पनि उनले छोराहरूलाई बेलैमा स्थापित गराइसकेका छन् । आफू सक्रिय राजनीतिमा लागेपछि उनले हेर्दै आएको व्यवसायको धेरैजसो जिम्मेवारी उनका छोरा निर्वाणले सम्हालिरहेका छन् भने नेपालबाहिरका कतिपय भेञ्चरहरू राहुल र बरुणको काँधमा छ । नेपाली कांग्रेसको राजनीतमिा सक्रिय चौधरीले अब पूर्णकालिन राजनीतिमा लाग्ने घोषणा गरिसकेका छन् भने तीनैजना छोरा पनि बाबुको पदचाप पछ्याइरहेका छन् । त्यसो त निर्वाणले बाबुकै प्रत्यक्ष निगरानीमा व्यवसाय सुरु गरेको दशक भइसकेको छ । अहिले भने उनी समूहकै प्रबन्ध निर्देशकका रूपमा सक्रिय छन् ।
त्यसो त चौधरी परिवारमा विनोदका भाइ वसन्तले छोरी मेगा र अर्का भाइ अरुणले पनि छोरा करणलाई सक्रिय बनाएको धेरै भइसकेको छ । करणले सानै उमेरदेखि ठूलो जिम्मेवारी बहन गरिरहेको अरुण स्वयं स्वीकार्छन् ।

खेतानको सफलता युवामै
खेतान समूहका अध्यक्ष राजेन्द्रकुमार खेतान पनि कम उमेरमै अविश्वसनीय सफलता हात पार्ने व्यक्तित्व हुन् । उनी ३० वर्ष नपुग्दै मुलुकको आर्थिक क्षेत्रको नेतृत्व तहमा पुगिसकेका थिए भने व्यापार व्यवसाय पनि आफैं सम्हाल्थे । गोर्खा ब्रुअरी, लक्ष्मी बैंक, हिमालयन स्न्याक्स, एभरेष्ट इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्सलगायत दर्जनौं व्यवसायलाई उनले ४० वर्ष पुग्नुअघि नै उचाइमा पु¥याइसकेका थिए । पहिलो संविधानसभाका सदस्यसमेत रहिसकेका खेतानमाथि उनका पिता मोहनगोपाल खेतानको पूर्ण भरोसा थियो भने भाइहरू सिपी खेतान र पीपी खेतानको पूर्ण आडभरोसा पनि । हाल पुँजी बजार र वित्तीय क्षेत्रमा केन्द्रित खेतान अहिलेका लाखौं युवाका पायोनियरसमेत हुन् ।
त्यसो त अल्पायुमै बितेका खेतानका बुबा मोहनगोपाल नै सानै उमेरमा स्थापित भएका हुन् । पढाइसँगै कलिलो उमेरमै व्यापारव्यवसायमा लागेका मोहनगोपाल आफ्नो समयका समकालीन उद्योगी व्यवसायीमध्ये निकै अगाठि मानिन्छन् । चिनीको व्यापारबाट यस क्षेत्रमा प्रवेश गरेका उनले आफैंले स्थापना गरेको खेतान ग्रुपलाई पनि सफल व्यावसायिक समूहको रूपमा चिनाएका थिए । म्यूचुअल ट्रेडिङ कम्पनीको नामबाट कर्पोरेट व्यापार सुरु गरेका मोहनगोपालले सन् १९८६ पछि उद्योगमा समेत हात हालेर खेतान ग्रुपको स्थापना गरेका हुन् । त्यसो त मोहनगोपाल सामाजिक, शैक्षिक, स्वास्थ्य, धार्मिकलगायत विभिन्न क्षेत्रको उत्थानका निम्ति स्थापित केही कल्याणकारी संस्थाका संस्थापक समेत थिए । उनको सहयोगमा कतिपय शिक्षालय तथा अस्पताल समेत निर्माण भएका छन् । खरो मिजासका मोहनगोपाल खेतान नेपालका व्यापारीवर्गमा स्पष्टवक्ताको रूपमा चिनिन्थे । नेपालमा पहिलो निजी एयरलाइन्स सुरु गर्ने श्रेय पनि उनैलाई जान्छ । सामान्यतः राजनीतिबाट पृथक् रहने नेपालको व्यापारिक क्षेत्रको चरित्र भन्दा फरक देखिँदै उनी बेलाबेलामा विवादास्पद राजनीतिक अभिव्यक्तिका कारण बेलाबखतत चर्चामा आउने पनि गर्दथे । लामो समयदेखि मधुमेहबाट पीडित मोहनगोपालको २०६३ वैशाख १३ मा ६१ वर्षको उमेरमै राजधानीको नर्भिक अस्पतालमा हृदयघातबाट भएसँगै राजेन्द्रले समूहको नेतृत्व लिएका हुन् ।

गोल्छाको गर्विलो बिरासत
नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्स स्थापनाको गर्विलो इतिहास बोकेको गोल्छा अर्गनाइजेसनको साम्राज्य पनि निकै ठूलो भइसकेको छ । गोल्छा अर्गनाइजेसन नेपालकै बढी रोजगारी सिर्जना गर्ने व्यवसायका रूपमा स्थापित छ भने उत्पादन विविधीकरणमा पनि उत्तिकै अब्बल छ । २३ वर्षकै उमेरमा नेपाल आएर व्यवसाय सुरु गरेका स्व. रामलाल गोल्छाको पदचाप पछ्याउँदै उनका छोराहरू स्व. हंसराज र हुलासचन्दका सन्तान अहिले व्यवसायमा क्रियाशील छन् । जसमध्ये हंसराजका छोरा दिवाकरको अल्पायुमै निधन भइसके पनि अर्को पुस्ता ( हितेश र हिमांशुं) तयार भइसकेका छन् । दिवाकरका दाजु लोकमान्य ‘रिटायर्ड बट नट टायर्ड’ अवस्थामा छन् भने उनका छोराहरू हेमन्त र आकाश पनि व्यवसायमा सक्रिय छन् । त्यसो त चैत अन्तिम सातादेखि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्दै गरेका शेखरका छोरा अभिमन्यू गोल्छा अमेरिकाबाट मेकानिकल इन्जिनियरिङ सकेर फर्किसकेका छन् । उनले बजाज थ्री ह्विलर्ससहित युरोग्रिप टायरको व्यवसाय सुरु गरे । यता, सुरेन्द्र गोल्छाकी छोरी अनुज्ञा पनि हुलास वेलनेस कम्पनीको व्यवस्थापन हेर्छिन् भने राजकुमारका दुई छोरी एकता र कोमल पनि व्यवसायमा अघि बढिसकेका छन् । एकताले आइटी र कोमलले बुबाको बिजनेस चलाइरहेकी छन् ।

छोराछोरीलाई अगाडि बढाउने प्रमुख घराना
सुरज वैद्य प्रतिभाशाली व्यवसायी मानिन्छन् । उनको बैद्यज अर्गनाइजेसन टोयोटा गाडीको पर्याय मानिन्छ भने यसबाहेक नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक समेत रहेका वैद्य पर्यटनमा पनि उत्तिकै रुचि राख्छन् । चिया र कृषिमा पहिलेदेखि नै आवद्ध वैद्य पछिल्ला दिनमा चिनियाँ साझेदारीमा सिमेन्ट उद्योग खोल्न पनि लागेका छन्  । उनले व्यावसायिक कार्यक्रममा पनि छोरी सभानालाई अघि बढाइरहेका हुन्छन् । अमेरिकामा पाँच वर्ष होटेल र रियल इस्टेटमा काम गरिसकेकी सभानालाई हस्पिटालिटीमै स्थापित गराउने योजनामा छन् वैद्य । उनले पारिवारिक व्यवसाय स्पाको समेत व्यवस्थापन सम्हालिसकेकी छन् ।
उड्डयन क्षेत्रमा एकछत्र राज गर्दै आएको बुद्ध एयरको व्यवस्थापनका लागि पनि वीरेन्द्रबहादुर बस्नेतकी दुई छोरी आरजु र आस्था बस्नेत तयार भइरहेका छन् । बुटिकबाट व्यवसाय सुरु गरेका उनीहरू बुद्ध एयरको नयाँ उडान, मार्केटिङ र बजार अनुसन्धानमा लागिरहेका छन् । पोखरा विमानस्थल बनेपछि सिधा अन्तर्राष्ट्रिय उडानका लागि आतुर बुद्धको भविश्य अब यही पुस्तामा छ । काका शिवेन्द्र बस्नेतको असफल यात्राबाट पनि यीनीहरूले केही सिकेका छन् ।
निर्माण क्षेत्रको विशाल घराना पञ्चकन्या समूहमा अहिले तीन पुस्ता सक्रिय छन् । संस्थापक प्रेमबहादुर श्रेष्ठमात्र नभइ छोराहरू ध्रुवकुमार र प्रदीपसहित तेस्रो पुस्ताका उदीप, उज्वललगायत तयार भइसकेका छन् । यता, शिवरतन सारडाका छोरा गौरव समेत नेतृत्वमा अब्बल सावित भइसकेका छन् । राइस मिलमार्फत ६ दशकअघि उत्पादनमूलक उद्योगमा हात हालेको सारडा ग्रुपले डन्डी, सिमेन्ट, वायर, रिफाइनरी, मैदा, मदिरा, स्न्याक्स, अक्सिजन उत्पादन गर्दैै आएको छ ।
गोरखाको मनकामना मन्दिरमा केबलकार सञ्चालन गरेर नेपाली पर्यटनमा नयाँ आयाम थपेका दिवंगत लक्ष्मणबाबु श्रेष्ठको विरासत नातिनी यशु श्रेष्ठले सम्हाल्न थालेकी छिन् । उनले मनकामना दर्शन प्रालिको सेल्स एन्ड मार्केटिङ विभाग सम्हालेको दुई वर्षभन्दा बढी भयो । चितवन कोई ‘क’ वर्गको कन्स्ट्रक्सन कम्पनीसमेत हो ।
पवन गोल्यान अहिलेको पुस्ताका जल्दाबल्दा तथा उच्च राजनीतिक पहुँच भएका व्यवासायी हुन् भने व्यवसाय चाहिँ छोरा अक्षय गोल्यानलाई सुम्पिसकेका छन् । उनको रिलायन्स स्पिनिङ मिलले टर्की, भारतमा धागो निर्यात गर्छ भने स्वदशी उद्योगमा पनि खपत गर्दछ । स्पेनबाट एमबिए गरेर फर्किएपछि व्यवसायमा छिरेका अक्षय धागो उद्योग सुधारीकरणमा छन् । गोल्यान ग्रुपले धागो, प्लास्टिक, स्वेटर, स्टिल उद्योग, वित्तीय क्षेत्र, हस्पिटालिटी, जलविद्युत्सँगै कृषि ठूलो लगानी गरिरहेको छ ।
यता, कमल जैनले सुरु गरेको हिलटेक कम्पनीको व्यवस्थापनमा छोरा पुल्कित जैन अघि बढिरहेका छन् । उनले पनि अमेरिका र लन्डनबाट बिजनेस म्यानेजमेन्ट पढेका हुन् । उनले हिलटेक कम्पनीको ट्यांक डिभिजन, प्लास्टिक पाइप डिभिजन, साँगाको रिसोर्टको व्यवस्थापन हेर्छन् ।
अग्नि ग्रुप नेपालको बढी आयकर तिर्ने समूहको सूचीमा अगाडि आउँछ र यो ग्रुप क्याबिनेट श्रेष्ठको नेतृत्वमा भए पनि उनकी छोरी बेदा श्रेष्ठले जिम्मेवारी सम्हालिरहेकी छन् । उनले अस्ट्रेलियाबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा ग्रयाजुयट गेकी हुन् ।
त्यसो त शशीकान्त अग्रवालले एकपछि अर्को ठूला होटल र चिनी कारखाना स्थापना गरिरहँदा उनको एमएस समूह सम्हाल्न अगाडि सरेका छन् उमंग अग्रवाल । उमंगको मिलेनियम ग्लोबल कम्पनी नेपालका लागि दर्जन बढी विदेशी वस्तुको एक मात्र आधिकारिक वितरक हो । एमएस समूह भने धागो, चिनी, बैंक तथा वित्तीय संस्था, हस्पिटालिटीमा केन्द्रित छ ।
पर्यटनमा पनि भ्यालु एडका लागि चर्चित काठमाडौं ग्रुप अफ होटल्स (केजिएच)मा हजुरबुबा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यसहित छोराहरू सुनिल र राजनमात्र नभइ नातिनी अमृताञ्जलीले समेत सम्हालिरहेकी छन् ।
व्यवसायीको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको शिकार भएको लोमस ग्रुपका अध्यक्ष प्रदीपजंग पाण्डेका तीनैजना छोराहरू प्रबलजंग, प्रतापजंग र प्रज्वलजंग व्यवसायमा सक्रिय छन् भने प्रज्वलका छोरा प्रणवले केही वर्षमै नेतृत्व लिने देखिन्छ । सिमेन्ट, औषधि, हेलिकप्टर, बैंक, ट्रेडिङलगायतका व्यवसायमा उनीहरू संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्