Logo

पाँचथरमा दलहरुको पुरानो विरासत भत्कियो

पाँचथर-विभिन्न कारणले जनप्रतिनिधिहरुको पद रिक्त हुन गएको स्थानमा भएको उपनिर्वाचनमा पाँचथरमा साविक विजेत दलहरु र तीनका उम्मेदवार पराजित हुन पुगेका छन् । पाँचथरको फाल्गुनन्द गाँउपालिका, हिलिहाङ वडा नम्बर ७ र फिदिम वडा नम्बर १ मा साविक विजेता दलहरु पराजित भएका हुन् ।
शनिबार भएको उपनिर्वाचनको तिनै स्थानको नतिजा सार्वजनिक भइसकेको छ । केहि समय अगाडि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङको निधन भएको थियो । नेम्बाङले नेपाली कांग्रेसबाट निर्वाचन जितेका थिए । अहिले उक्त स्थानमा नेकपाका बिरबहादुर कुरुम्बाङ निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका वीरबहादुर कुरुम्बाङ आठ सय छ मतान्तरले विजयी भएका छन् । कुरुम्बाङले ५ हजार ३ सय ६९ मत ल्याए । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका बृजहाङ्ग आङदेम्बेले ४ हजार २ सय ९२ मात पाए ।
फाल्गुनन्द गाउँपालिकामा पहिला कांगे्रसले दुई तिहाइ मतका साथ निर्वाचन जितेको थियो । अहिले अध्यक्ष पदमा पराजित भए पनि कार्यपालिकामा कांगे्रसको दुइतिहाइ रहने छ । त्यसैगरि नेकपाको पकड एरियाको रुपमा चिनिने हिलिहाङ गाउँपालिकाको वडा नम्बर ७ मा यस पटक नेपाली कांगे्रसले बाजी मारेको छ । साविक नेकपा एमालेमा चुनाव जितेका तिर्थ तिमल्सिनाको निधन भएपछि भएको उपनिर्वाचनमा
हिलिहाङ गाँउपालिका–७मा कांग्रेसका तिल विक्रम इधिङ्गो विजयी भएका छन्। । यहाँ नेकपाका गेहेनाथ रिजाल पराजित भएका छन् । यसअघिको निर्वाचनमा हिलिहाङ गाउँपालिकाका नेकपाले क्लिन स्विप गरेको थियो ।
नेपाली कांग्रेसलाई फिदिम– १ मा उपनिर्वाचन मत परिणामले झट्का लागेको छ । फिदिम वार्ड न. १ मा नेकपामा गजाधर भट्टराई फराकिलो अन्तरले विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट विजयी वडाध्यक्ष हर्क मोक्तानको निधन भएपछि भएको उप–निर्वाचनमा नेकपाका भट्टराईले जितेका हन् ।
यहाँ कांग्रेसका सुभराज थापा पराजित भए । अन्तिम मत परिणाम अनुसार भट्टराईले १ हजार ४ सय ४६ र थापाले ९ सय ७२ मत प्राप्त गरे । यो वडा काग्रेसको पकड भएको वडा मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्