इन्धनमा मिसावट गर्ने ट्यांकर कारबाहीमा «

इन्धनमा मिसावट गर्ने ट्यांकर कारबाहीमा

पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको छ । इन्धन बोकेर आएका ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ । इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुइटा ट्यांकरलाई कारबाही गरेको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी) का विभिन्न डिपोबाट ल्याएको तेलको गुणस्तर मापन गर्दा कम गुणस्तर भेटिएपछि इन्धन बोक्ने ट्यांकर कारबाहीमा परेका हुन् । शिवप्रसाद घिमिरे सञ्चालक रहेको एउटा र ललित मुनियाको एउटा ट्यांकरमा ल्याइएको इन्धनको गुणस्तर परीक्षण गर्दा कैफियत फेला परेपछि कारबाही गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । हाल ती दुइटा ट्यांकरलाई निलम्बनमा राखी इन्धन बोक्न रोक लगाइएको छ । “भारतीय डिपोबाट इन्धन भरेर आएका ट्यांकरको गुणस्तर परीक्षण गरेर बजारमा पठाउँछौं,” प्रवक्ता गोइतले भने, “इन्धनमा गुणस्तरको समस्या देखिए तत्काल कारबाही गर्छौं ।” शिव घिमिरे सञ्चालक रहेको ट्यांकरलाई ६ महिना र ललित पुनियाको ट्यांकरलाई इन्धन आयात गर्न तीन महिना रोक लगाइएको उनको भनाइ छ । इन्धनको गुणस्तरमा समस्या देखिएपछि निश्चित समयसम्म ती ट्यांकरले ढुवानी गर्न पाउँदैनन् ।
बाटोमा चालकले बदमासी गर्दा इन्धनको गुणस्तरमा समस्या आउने गर्छ । निगमले तोकिएको गुणस्तर अनुरूप तेल नभएपछि विनियमावलीमा भएको व्यवस्थाअनुसार ट्यांकरलाई कारबाही गर्ने गर्छ । आइओसीका विभिन्न डिपोबाट गुणस्तरयुक्त इन्धन भरेर आए पनि नेपालमा आइपुग्दा गुणस्तरमा समस्या देखिने गरेको निगमको भनाइ छ । हाल १ हजार ५ सय ट्यांकरले मुलुकमा भारतका विभिन्न डिपोबाट इन्धन बोक्दै आएका छन् ।
यसैबीच, इन्धनको गुणस्तर र तौलमा हुने समस्या नियन्त्रण गर्न निगमले ट्यांकरमा लकिङ प्रणाली लागू गर्न लागेको छ । बीचबाटोमा कसैले केही गर्न नसक्ने गरी ट्यांकरमा लकिङ प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको निगमले जनाएको छ । लकिङका लागि आइओसीले ताल्चा समेत पठाइसकेको छ । ट्यांकरमा लकिङ प्रणाली जडान भई त्यसमा ताल्चा लगाइने हुँदा बीचबाटोमा कसैले केही गर्न नसक्दा गुणस्तर र तौलमा सुरक्षित भइने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्