लक्ष्य भन्दा राजस्व असुली कम, करदाता सम्मानित «

लक्ष्य भन्दा राजस्व असुली कम, करदाता सम्मानित

 
कर सप्ताह सम्पन्न

धनगढी-आन्तरिक राजस्व कार्यालय धनगढीले पहिलो चौमासिकमै लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७६-०७७ को कात्तिकसम्म एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेपनि लक्ष्य भेटाउन नसकेको हो । कार्यालयले पहिलो चौमासिकमा कुल लक्ष्य पाँच अर्ब १५ करोडको ३० प्रतिशत मात्रै राजस्व संकलन भएको जनाएको छ ।
कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकेको बताए । उनका अनुसार कात्तिकसम्म एक अर्ब ६१ करोड दुई लाख ९७ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो । ‘आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्य उठ्छ’, कार्यालय प्रमुख श्रेष्ठले भने, ‘विगतमा अन्त शुल्क बढि उठ्ने गरेको भएपनि यस वर्ष मूल्य अभिवृद्धि कर बढि उठिरहेको छ ।’
आर्थिक वर्ष २०७५-०७६ मा दुई अर्ब ४२ करोड लक्ष्य तोकिएकोमा तीन अर्ब ७२ करोड राजस्व संकलन गरेको कार्यालयलाई आर्थिक वर्ष २०७६-०७७ मा दोब्बर लक्ष्य तोकिएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा अन्त शुल्क चार लाख २३ हजार ३५७ रुपैयाँ संकलन गरेको छ भने मूल्य अभिवृद्धि कर ११ लाख तीन हजार एक रुपैयाँ संकलन गरेको छ । घर भाडा करअन्र्तगत २६ हजार आठ सय ८२, स्वास्थ्यअन्र्तगत २० हजार पाँच सय ७३ र शिक्षा सेवाअन्र्तगत एक सय ५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

पाँच करदाता जना सम्मानित
आन्तरिक राजस्व कार्यालय धनगढीले समय र सबैभन्दा बढी कर तिर्ने पाँच जना करदातालाई सम्मान गरेको छ ।
आठौं कर सप्ताहको समापन समारोहमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका एक-एक करदातालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यालयबाट सम्मानित हुनेमा कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार शाहले सम्मानपत्र ग्रहण गरेका थिए ।
यस्तै, डोटीको जेभी ट्रेडर्सका सञ्चालक जंगबहादुर रावल, अछामका मो सविल टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक अक्रामुल श्रेष्ठ, बाजुराबा डीबी खाद्य अर्डर एण्ड सप्लायर्सकी सञ्चालिका फुगी जोशी र बझाङबाट सलोन इन्टरप्राइजेजका सञ्चालक नरेन्द्रबहादुर खडका रहेका छन् । उनीहरुलाई कैलाली प्रमुख जिल्ला अधिकारी बोहराले प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कर सप्ताह समापन
मंसिर १ गतेदेखि सुरु भएको आठौं कर सप्ताह शनिबार समापन भएको छ । सप्ताहको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले समापन गरेका थिए । सो अवसरमा बोल्दै प्रजिअ बोहराले कर तिर्ने कामलाई गौरवको विषयमा लिन करदातासँग आग्रह गरे । ‘हामीले तिरेको करबाटै राज्य सञ्चालन, विकास निर्माणलगायतका काम अघि बढ्छ’, उनले भने, ‘कर तिर्नुलाई बोझ तथा झन्झटका रुपमा नलिई गौरव गर्न म आग्रह गर्छु ।’
प्रजिअ बोहराले कर कार्यालयले पनि करमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए । ‘कार्यालयको प्रशासन फाँट, राजस्व फाँट सबै कर मैत्री हुनुपर्छ,’ उनले भने, ‘सेवाग्राही आउँदा सहजीकरण गरिदिनुहोस् । उनीहरुले नजानेका कुरा सिकाइदिनुहोस् ।’
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले करको नामबाट व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । ‘कर तिर्न आउँदा केही कमजोरी भएको छ भने सिकाई दिनुहोस्,’ उनले भने, ‘एकै चोटी ५०-६० लाखको करको बोझ दिएर व्यवसायबाटै विस्थापित गराउने काम नहोस् ।’
नेपाल अडिटर्स एशोसियसनका प्रदेश अध्यक्ष भागिराम केसीले व्यवसायीलाई स्वच्छ, पारदर्शी र स्पष्ट ढंगले लेखा परीक्षण तथा वित्तिय व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । उनले कर कार्यालयले सबै बैंकमा कर दाखिला गर्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्