आठौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, नारा र गीत सार्वजनिक

२०७५ मंसिरमा नेपालगञ्जमा आयोजना गरिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ । प्रतियोगिताका लागि हात्तीको छावा मस्कट निर्धारण गरिएको छ भने ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारा निर्धारण गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले आठौं राष्ट्रिय प्रतियोगिताको लोगो, मस्कट, खेलकुद गीत र नारा सार्वजनिक गरे । सो अवसरमा उनले यस पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गरिने दृढता व्यक्त गरे । प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण र खेलकुद गतिविधिलगायत सबै प्रकारका तयारी तिव्र रुपमा अगाडि बढीरहेकोले समयमै प्रतियोगिता आयोजना हुने कुरामा कसैले पनि शंका नगर्न उनले आग्रह गरे ।