Logo

विकास निर्माणका कामप्रति संघीय सांसदहरुको असन्तुष्टि

गोरखाका संघीय सांसदहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग केही दिनअघि भएको छलफलमा उनीहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका हुन् । गोरखा क्षेत्र नं २ का सांसद एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डे र प्रतिनिधिसभाका सांसद चुडामणि खड्काले सरकारी कार्यालयका प्रमुखहरुलाई प्रक्रियामुखी नभइ परिणाममुखी हुन आग्रह गरे ।
मध्यपहाडी राजमार्ग, गोरखा–वारपाक सडकलगायत योजनामा भइरहेको ढिलाइप्रति संकेत गर्दै डा भट्टराईले भने, ‘जुन गतिमा जानुपथ्र्र्यो त्यो गतिमा काम भएको छैन, मैले निरन्तर नापेर हेरिरहेको छु, ठेक्का लागेको सडकमा पातिघारी उम्रिएको छ ।’ बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवानमा पर्ने बजारक्षेत्रको मुआब्जा निर्धारणमा भइरहेको ढिलाइप्रति पनि भट्टराईको असन्तुष्टि छ ।
छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई निर्धक्कसँग मुआब्जा निर्धारण गर्न उनले आग्रह गरे । सकेसम्म स्थानीय बासिन्दाको अपेक्षालाई सम्बोधन गर्ने गरी मुआब्जा निर्धारण गर्न पनि उनले अनुरोध गरे ।
राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले पनि बूढीगण्डकी आयोजनाको निर्माणमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे । ‘हामीले उर्जामन्त्रीसँग पटक–पटक छलफल गरेका छौं, उहाँबाट सँधै सकारात्मक कुरा नै पाएका छौं’ उनले भने, ‘मुआब्जा निर्धारणको काम किन अड्कियो, त्यसलाई छिटो टुंगो लगाउनु प¥यो ।’ बजारक्षेत्रको मुआब्जा निर्धारणमा ढिलाइ भएको भन्दै गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाऊँपालिकाले सुरु गर्न लागेको आन्दोलन स्वभाविक भएको पाण्डेको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले ठेकेदारका कारण धेरैजसो विकास योजनाको काममा ढिलाइ भएको भन्दै हालको ठेक्का प्रणालीमै सुधार गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी लामिछानेले बूढीगण्डकी जलविद्युत आयोजनाको बाँकी क्षेत्रको मुआब्जा निर्धारणको अन्तिम तयारी भइरहेको बताए । छलफलका क्रममा कार्यालय प्रमुखहरुले कर्मचारी अभावका कारण काममा अप्ठ्यारो परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्