बर्खाको पानी संंकलन गरी हिउँदेमा सिँचाइ «

बर्खाको पानी संंकलन गरी हिउँदेमा सिँचाइ

पानीको स्रोत पर्याप्त नहुँदा तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका किसानले बर्खाको पानी संकलन गरी हिँउदेबाली र तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । जलवायु परिवर्तनका कारण गाउँमा भएका पानीका मुहान सुकेसँगै हिउँदेबाली लगाउन नपाएका किसान पछिल्लो समय आकासे पानीलाई संकलन गरी तरकारी गर्दै आएको छथर गाउँपालिका–५ ओख्रेका नबिन लिम्बूले बताए । किसानले प्लास्टिक पोखरी बनाएर पानी संकलन गरी सिँचाइ गर्दै आएका छन् ।
किसानले पोखरीमा संकलन गरेको पानीले हिउँदमा रायोको साग, खुर्सानी, आलु, गोलभेंडा, प्याज, लसुन, मटरकोसा, काउली, धनियाँलगायतका तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । किसानले हिउँदेबाली तथा तरकारी खेतीबाट मनग्य आम्दानी लिँदै आएको ओख्र्रकै किसान नचोन्द्र पौडलेले बताए । दुई वर्षअघिबाट बर्खाको पानी संकलन गरी अकबरे खुर्सानी र तरकारी खेती गर्दै आएको उनले बताए ।
खेतीका लागी पानी नभए पनि बर्षादको पानीले खेती गर्न सकिने उदाहरणका रुपमा यहाँका किसानले तरकारी खेती गर्दै आएका छन् । बर्खामा परेको पानी पोखरीमा संकलन गरी सुक्खायाममा यहाँका किसानहरूले तरकारी खेती तथा अन्यबालीमा सिँचाइ गर्ने गरेका छन् । केही वर्ष अघिमात्र स्थानीय शुक्रबारे बजारबाट तरकारी किनेर खाने यहाँका स्थानीय अहिले हिँउदेबालीमा हौसिएका छन् । वर्षादको याममा गरिने खेतीभन्दा राम्रो आम्दानी लिन सकिने भएकाले पनि हिँउदेबालीमा किसानको आकर्षण बढ्दो क्रममा रहेको हो । “किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागी टाढा पुराउनुपर्ने समस्या छैन । स्थानीय बजारमै बिक्री हुन्छ,” सिर्जनशील महिला समूह छथर गाउँपालिका–५ ओख्रेकी अध्यक्ष शिवमाया खड्काले भनिन् ।
किसानहरूमा हिउँदेबाली तथा तरकारी खेतीका लागी प्लास्टिक पोखरी बनाउनेको होड नै चलेको छ । गाउँका धेरै किसानले घरछेउमै १ लाख लिटर क्षमताका प्लास्टिक पोखरी निर्माण गरेका छन् । पोखरीमा भान्सामा प्रयोग भएर खेर गएको, बढी भएको पिउने पानीसमेत संकलन गर्ने गरिएको छ । किसानले सुख्खा मौसममा यही पानी पाइपबाट तानेर करेसाबारीसम्म पु¥याएर तरकारीमा सिँचाइ गर्दै आएका छन् ।

प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्