कांग्रेसमा ‘अभियानै–अभियान’ , ५ वर्षपछि पार्टीेलाई बहुमतमा पुराउने लक्ष्य «

कांग्रेसमा ‘अभियानै–अभियान’ , ५ वर्षपछि पार्टीेलाई बहुमतमा पुराउने लक्ष्य

आफ्नो गुमेको साख फर्काउन भन्दै नेपाली कांग्रेसमा अहिले ‘अभियानै–अभियान’ घोषणा भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंका दुई ठाउँमा आयोजित कार्यक्रममा छुट्टाछुट्टै अभियानको घोषणा भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, बद्री पाण्डे, कल्याण गुरुङ, गोविन्द भट्टराई, महालक्ष्मी उपाध्यायलगायतले ‘सशक्त विचार र सुदृढ संगठनको कांग्रेस’ विषयमा नक्सालस्थित एक होटलमा विज्ञहरूसँग छलफल गरिरहँदा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताहरू बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेपाली कांग्रेस पुनर्जागरण’ अभियानको अवधारणापत्रमा छलफल गरिरहेका थिए ।
जोशीले ५ वर्षपछि स्पष्ट बहुमत ल्याउने अवस्थामा कांग्रेसलाई पु¥याउने भन्दै त्यसका लागि तल्लो तहसम्म अभियान लैजाने बताए । “सत्तामा नगए पनि देश र जनताप्रति कांग्रेसको जिम्मेवारी कुनै पनि अवस्थामा कम हुँदैन,” उनले भने, “संघीय तथा प्रदेशस्तरमा छाया सरकार तथा स्थानीय तहमा न्यायपूर्ण शासन व्यवस्था र सुशासनको प्रत्याभूति गराउन निगरानी समूहको गठन हुनुपर्दछ ।”
उनले पार्टीमा विधानको सर्वोपरिता र समायोचित संशोधन, अगाडिको बाटोबारे आफ्ना धारणा राखेका थिए । तत्काल केन्द्रीय समिति बैठक बसी कार्यकर्तामा देखिएको अन्योल चिर्दै कार्यकर्ताहरूलाई विश्वस्त बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए । उनले कांग्रेसलाई जनताले अग्निपरीक्षामा होमेको र त्यसमा खरो उत्रिने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले कांग्रेस सैद्धान्तिक रूपमा प्रष्ट हुनुपर्ने बताए । उनले मन्त्रिपरिषद्ले राष्ट्रियसभाका गरेको ३ जनाको फिर्ता लिनु कम्युनिष्ट सरकार आएसँगै तनाशाही व्यवस्थाको सुरुवात भएको टिप्पणी गरे । “यसो हुँदा कांग्रेसको किन कुनै प्रतिक्रिया आएन ?” केसीले भने, “यो तानाशाही शासनको शुरुवात हो ।” उनले कांग्रेसमा गुट बनाएर पार्टीमा हस्तक्षेप गर्ने चलन बन्द हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. जगदिशचन्द्र पोखरेल, गोविन्द पोख्रेल र स्वर्णीम वाग्लेले कांग्रेसले आफूले गरेका कुराहरू जनताको माझमा लैजान नसक्दा पराजय बेहोर्नुपरेको बताए । उनीहरूले कांग्रेस पार्टी सञ्चालन पद्धतिमा सुधारको खाँचो रहेको औंल्याए । नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले एउटा व्यक्ति कुन पदमा कति पटक रहने भन्ने व्यवस्था पार्टी विधानमै गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता उमेशजंग रायमाझीले कांग्रेसले समाजावदी नर्सरी जोगाउनुपर्ने बताए । उनले कांग्रेसप्रतिको आकर्षण घटेको भन्दै पार्टीभित्र आत्मशुद्धिकरणको आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा धारणा राख्ने अन्य वक्ताहरूले कांग्रेसले विगतमा गरेका कमजोरी सच्याएर पार्टी सुदृढिकरण अभियान थाल्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, सांसदहरू प्रकाश स्नेही, मिना पाण्डे, महालक्ष्मी उपाध्यायलगायत सहभागी थिए । जोशीले विषय प्रवेश गराएपछि कांग्रेस केन्द्रीय सदस्यहरूले भने सहभागीहरूको धारणा सुने पनि आफ्नो भनाइ भने राखेनन् ।
तत्काल महासमिति बैठक माग
बत्तिसपुतलीमा आयोजित ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान’ ले तत्काल महासमिति बैठक माग गरेको छ । कार्यक्रममा प्रस्तुत अवधारणापत्रमा महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभर सशक्त र जिम्मेवार प्रतिपक्षको रूपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्मअनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने गरी कांग्रेसलाई पुनर्जागरण गर्ने उल्लेख छ ।
अभियानले कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पु¥याउने जनाइएको छ । सैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनव्र्याख्या पनि गर्ने भन्दै संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक, सामाजिक परिवेशअनुसार संगठनको पुनर्संरचना गरेर कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी गतिशिल र अनुशासित पार्टी बनाउन संगठनको खाका कोर्ने पनि अवधारणपत्रमा भनिएको छ ।
‘‘हामी प्रष्ट गर्न चाहन्छौं– यो कुनै गुट होइन, कुनै व्यक्तिविरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो,’’ अवधारणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्