इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।
श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोन सम्पर्क गरी नेपाली श्रमिकबारे जानकारी लिएका हुन् । राजदूत रिजालले अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको जानकारी दिइन् । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई अनुरोध गरेको छ । इजरायलमा हाल कृषि तथा केयर गिभर क्षेत्रमा चार हजार भन्दा बढी नेपाली कार्यरत छन् ।
इजरायलमाथि इरानी हमला सुरु भएको लगत्तै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि सुरक्षा निर्देशन जारी गरिएको दूतावासले जनाएको छ । आगामी सोमबार राती ११ बजेसम्म लागु हुने गरी शैक्षिक गतिविधि बन्द गर्ने र ठूलो स्तरको सभा/भेल नगर्ने भनी निर्देशन जारी भएको दूतावासले जनाएको छ ।
राजदूत रिजालले आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न अनुरोध गरिएको बताइन् । आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल आसपासमै रहनसमेत दूतावासले नेपालीलाई अनुरोध गरेको छ ।
अत्यावश्क अवस्थामा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र श्रम सहचारी सञ्जयकुमार साहसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई इरान र इजरायलबीचको तनाबको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन दिएको छ । इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्रले पछिल्लो अवस्थाका बारेमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।
इरान र इजरायलबीचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्रले रिपोर्ट मागेको हो । इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्दार गरी ल्याउनु पर्ने अवस्था आउन सक्ने मन्त्रालयको भनाइ छ । यस अघिको इजरायल हमास युद्धका हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए ।
त्यति बेला सरकारले इजरायलमा रहेकामध्ये साढे २०० भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएको थियो । केही दिनअघि सिरियामा रहेको आफ्नो महावाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले त्यसको बदला लिने घोषणा गरेको थियो । बदलास्वरूप इरानले आइतबार बिहान इजरायली भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । इजरायली सेनाले इरानले प्रहार गरेका ३०० भन्दा बढी क्रुज मिसाइल र ड्रोनलाई आकाशमै ध्वस्ता पारेको जनाएको छ ।
इरानले प्रहार गरेका मिसाइल आकाशमै ध्वस्त पार्न अमेरिका र बेलायतले पनि साथ दिएका थिए । इरानले आक्रमण सुरु गरेपछि हाल रोजगारीका लागि इजरायल जान करार सम्झौता गरेका नेपाली प्रभावित हुने भएका छन् । इजरायलले दोस्रो चरणमा रोकिएका ४२५ युवालाई इजरायलमा रोजगारीको अवसर दिने जनाउँदै धमाधम श्रम सम्झौता गर्न थालेको छ ।
सरकारले इजरायलमा सहायक कामदारका रुपमा विभिन्न वृद्धा आश्रममा काम गर्न जान छनोटमा परेर पनि एक वर्षसम्म जान नपाएका नेपालीलाई इजरायलले श्रम सम्झौता गर्न थालेको हो । यसअघि इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका ४२५ युवालाई पुन छनोट गरेर पठाउन सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका जिटुजी शाखाका निर्देशक गोपालराज तिमिल्सिनाले ४२५ मध्ये ३ हप्ताभित्र २५२ जना युवाको श्रम सम्झौता गर्ने इजरायली योजना रहेको बताए । विगत २ वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने प्रवृत्ति बढेपछि धेरै युवाको सपना इजरायल हुन थालेको छ ।
निर्देशक तिमिल्सिनाले पछिल्लो समय इजरायल नेपाली लैजान सकारात्मक हुँदै गएको जनाउँदै सोही अनुसार नेपालले तयारी गरेको बताए । इजरायल र हमासबीचको द्वन्द्व कम हुँदै गएपनि सुरक्षित स्थानमा नेपाली पठाइने गरी प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ । छनोट भएर पनि लट्रीमा फलिएका युवाले अनुरोध गरेपछि इजरायल पक्षसँग छलफल गरेर ४२५ लाई पठाउने तयारी सुरु गरिएको हो ।
विभागले २ वर्षअघि भाषा परीक्षा र अन्तर्वार्तामा छनोट भएर पनि लट्रीमा नपरेकालाई पठाउने तयारी भइरहेको बेला आइतबार ११ जनाको श्रम सम्झौताको सूचना सार्वजानिक गरिएको छ । यसका लागि विभागले युवाको मोवाइलमा भिसालगायतका प्रक्रियाको जानकारी दिने जनाएको छ । हाल बाँकी रहेकाबाहेक यसअघि १ हजार एक सय भन्दा बढी इजरायल गइसकेका छन् ।