खप्तडमा पर्यटक आगमन बढ्यो

♦ पूर्वाधार अभावमा सुदूरपश्चिममा पर्यटन विकास कमजोर
धनगढी-खप्तड पुगेपछिको सबैभन्दा पहिलो समस्या खानपिन र आवास आजका दिन पनि ज्यूका त्यूँ छ । खण्डहर बनेको घरमा एउटा मेट्रिसमाथि ओढ्ने बिना नै करिब माइनसको चिसोमा कुकरूक्क परेर कोल्टे फेर्दै रात बिताएको देख्दा नमिठो अनुभव भयो । चिया खान पनि लाईन बस्नु पर्ने र तातोपानि पिउन घन्टौं कुर्नुपर्ने !३५ औं पटक खप्तड पुगेर यसैसाता धनगढी फर्किएका नेपाल भ्रमण वर्ष–२०२० पर्यटन प्रबद्र्धन समिति सुदूरपश्चिम प्रदेशका सदस्य किशोर खड्काले यसरी नै लामो फेसबुक स्टाटस लेखेका छन् । “करिब ३ दिन खप्तड बिताउने गरी आएका काठमाडौँका अशोक शाक्यलगायत ४ जनाको टोली खप्तड पुगेकै दिन फिर्ता भयो, कारण सुत्नलाई ठाउँ भएन,” उनले सुदूरपश्चिमको अछाम, बझाङ, बैतडी र डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जमा पुग्ने पर्यटकहरूको दुःखलाई प्रतिनिधित्व गर्दै स्टाटस लेखेका छन्, “खप्तड बाबा आश्रमबाट घोडा दाउना पाटन हिंडेको एक टोली हिंड्दा हिंड्दा लोखाडा झर्ने ओरालो पुगेर फिर्ता भयो । कुनै सूचना सहितको जानकारी पाएनन् ।
डोटीको बगलेखबाट बिहान हिडेका एक जमातलाई राति १० बजे नेपाली सेनाले उद्दार गरेर ल्याउनु प-यो ।”वर्षात् सकिएको र चिसो नभइसकेको हालको मौषमलाई खप्तड घुम्ने उत्तम समय मानिन्छ । यही मौसमको फाइदा उठाउँदै अहिले दैनिक ५०-६० जना बाह्य र आन्तरिक पर्यटकहरू खप्तड पुगिरहेका छन् ।
खप्तडमा गेष्ट साउस चलाइरहेका प्रकाश शाहले यसै साउनदेखि कात्तिकको चार गतेसम्म ३ सय ९७ जना नेपाली र ९ जना विदेशी पर्यटक खप्तड आएको बताए । तर, पूर्वाधार अभावका त्यहाँ पुगिरहेका पर्यटकहरूले दुःख पाइरहेका छन् । गेष्ट साउसका सहायक वार्डेन शाहले आउने पर्यटकलाई खप्तडमा बस्न र खान व्यवस्था नभएकै कारण टिकाउन नसकिएको बताए । पर्यटकहरूका लागि सुदूरपश्चिम भ्रमणमा खप्तड पहिलो रोजाइमा पर्ने गरेको भए पनि बस्ने र खाने सुविधा विकास हुन सकेको छैन । “खप्तड आउने पर्यटकहरूको पहिलो समस्या नै खान बस्ने समस्या हो,” पर्यटन व्यवसायी खड्काले भने, “अहिले खप्तड आइरहेका पर्यटकहरूलाई राति टाउको लुकाउने ठाउँ पाउनु ठूलो कुरा हो ।”तत्कालीन खप्तड क्षेत्र पर्यटन विकास समितिले बनाएको चार कोठे गेष्ट हाउस छ ।
त्यसको अलावा एउटा पुरानो भत्किन लागेको घर छ । त्यसैमा पर्यटकहरूलाई बस्ने व्यवस्था गरिने गरेको सहायक वार्डेन शाहले बताए । उनले पर्यटकहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय र गोलघरहरूमा समेत पर्यटकहरूलाई राख्ने गरिएको बताए । उनले खप्तडमा रहेका सेनाको व्यारेकबाट मेटे«स मागेर पर्यटकलाई सुत्न दिने गरेको बताएखप्तड जानका लागि सडकको राम्रो व्यवस्था समेत नभएको बेला दुःख गरी त्यहाँ पुगेका पर्यटकलाई बस्न र खानको ठूलो समस्या हुने गरेकाले नै सुदूरपश्चिमको पर्यटन विकास कमजोर भएको छ । यातायात सुविधा नपुगेको खप्तड पुग्न डोटीको झिंरानाबाट ८ र बझाङको लोखडाबाट ५ घण्टा पैदल दुरीको कठिन बाटो छ ।
“पहाडमा हिंडिरहेका व्यक्तिहरू यो समयमा खप्तड पुग्छन्,’ सहायक वार्डेन शाहले भने, ‘हिंड्न नसक्नेलाई अझै धेरै समय लाग्छ ।”बाटो लामो र कठिन हुनुका साथै नयाँ जाने व्यक्तिहरूको लागि बाटो विर्सिने सम्भावना पनि उत्तिकै छ । बाटोमा खप्तड जाने बाटोको संकेत समेत राखिएको छैन । बाटो हिंड्दा चाहिने पानी र खाजा समेत आफैंले बोकेर जानुपर्ने बाध्यता छ । पर्यटन व्यवसायी खड्काले खप्तड जादा स्थानीय भूगोल र अवस्थाको राम्रो जानकार गाइड वा सहयोगी अनिवार्य साथमा लिएर जान सुझाव दिन्छन् ।यसैगरी, धर्तीको स्वर्ग नै मानिने बाजुराको बडिमालिकामा समेत यस्तै समस्या छ । बडिमालिका पुग्न निकै कठिन बाटो छ ।
कम्तीमा तीन दिनको यात्रामा पुगिने बडिमालिका पुग्न तीन रातको बास बाटोमै बस्नुपर्ने हुन्छ । तर, बाटोमा बास बस्ने व्यवस्था कही पनि गरिएको छैन । बडिमालिका मन्दिर रहेको ठाउँमा समेत बस्ने बास र खानको लागि लज तथा रेस्टुरेन्टको व्यवस्था छैन ।सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका सात गरी नौ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्वीक, साहसिक (हिमाल आरोहण, -याफ्टिङ, प्याराग्लाइडिङ) ग्रामीण लगायतका पर्यटकीय गन्तव्य छन् । तर त्यहाँ आवश्यक पूर्वाधार नबनाइएकाले आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर छ ।
यही कारण सुदूरपश्चिममा पर्यटन विकासमा आशातित प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरूको अनुभव छ ।सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा -याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोवारीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य छन् ।त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन् ।
यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन् ।प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधा सम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रूपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एसोसिएसन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले बताए ।नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० घोषणा गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी नेपालभरीका एक सय गन्तव्य छनोट समेत भइसकेका छन् ।
भ्रमण वर्षका लागि सुदूरपश्चिममा पर्यटन विकास बोर्डले २८ वटा नयाँ गन्तव्य छनोट गरेको छ ।भिजिट नेपाल २०२० सचिवालयले सुदूरपश्चिमको खप्तड–रामारोशन–बडीमालिका सांस्कृतिक पैदलमार्ग र कर्णाली -याफ्टिङलाई विदेशी पर्यटक भित्र्याउने प्रमुख गन्तव्यका रुपमा राखेको छ । पर्यटन व्यवसायीहरू भने सरकारले सुदूरपश्चिम प्रदेशमा दुइटा मात्र गन्तव्य राखेकोमा सन्तुष्ट देखिँदैनन् । नाटाका प्रदेश अध्यक्ष भट्टले भने, “केही पनि नहुनु भन्दा प्रदेशको एक क्षेत्रलाई सरकार गन्तव्यमा राखेको छ ।” उनले भिजिट नेपाल २०२० सचिवालयले छनौट गरेको नयाँ गन्तव्यमा पूर्वाधार अभाव हुँदा पर्यटकलाई समस्या हुने प्रतिक्रिया दिए ।“सरकारले तत्कालै सबै क्षेत्रमा पूर्वाधार निर्माण गर्न सक्दैन । भिजिट नेपाल २०२० आउन तीन महिना मात्र बाँकी छ । त्यसैले अहिले त्यहाँ पूर्वाधार बनाउने की पर्यटकलाई पु-याउने ?” नाटाका प्रदेश अध्यक्ष भट्टले अहिले सरकारले छनोट गरेको गन्तव्य सन् २०२० लाई नभएर सन् २०२५ लाई लक्षित छनोट गरेको जस्तो देखिएको बताए । उनले भने, “सरकारले तत्काल प्रतिफल आउने स्थान छनौट गनुपथ्र्याे, तर यहाँ ठूला नेताको निर्वाचन क्षेत्र तथा पहुँचवालाको क्षेत्रलाई लक्षित गरी गन्तव्य छनोट गरेको जस्तो देखियो ”
खप्तडमा पर्यटक आवास गृह निर्माणको तयारीखप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरी खप्तडमा एक सय जनाको क्षमताको पर्यटक आवास गृह निर्माणको तयारी सुरु गरेको छ । नेपाल पर्यटन विकास बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरी गत असारमा राष्ट्रिय निकुञ्जको कार्यालयलाई निकासा दिएपछि राष्ट्रिय निकुञ्जको कार्यालयले आवास गृह निर्माण गरिरहेको हो । राष्ट्रिय निकुञ्जको कार्यालयले बिचपानीमा २५ बेडको विश्राम गृह र खप्तडमा एक सय बेडको आवास गृह बनाउन टेन्डर आव्हान गर्ने तयारी गरेको छ । आवास गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन भने बनाइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका ईन्जिनियर सचिन न्यौपानेले बताए । उनले कात्तिक महिना भित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको बताए ।
मुकेश चौधरी