Logo

अर्को बैठक आगामी वैशाख २ गते बस्ने

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

फाइल तस्बिर ।

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका थिए ।

तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले बुधबारका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरे । बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरेका छन् ।

कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशंका व्यक्त गरे । दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे । उनले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए ।

सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरुलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराए । उनले रचनात्मक र सिर्जनात्मक रुपमा सदनमा प्रस्तुत हुँदै सदनलाई बहसको थलो बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए । उनले आफूहरु सुशासनको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री लामिछानेले निशेधाज्ञा जारी गर्नु अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाए । उनले मंगलबार राप्रपाको प्रदर्शनीमा आफ्ना कार्यकर्तामाथि गृहमन्त्रालयबाट ज्यादति भएको समेत आरोप लगाए । प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्