Logo

राप्रपाको प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको छ । राप्रपा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको देखिन्थ्यो । सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन चलेका छैनन् ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन् । उनले भने, “शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने छैनन् र अप्रिय घटना हुने छैन ।”

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ । उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौंमा आएका बताइएको छ । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलबार काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्