तुलसी कम्पोस्ट मल उत्पादन सुरु

दाङ– तुलसीपुर उपमहानगरपालिकाले कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको गरेको छ । स्थानीय सरकारलाई फोहर व्यवस्थापनको चुनौती भइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको हो । फोहरको दिगो व्यवस्थापन र फोहरलाई मोहरमा बदल्न तुलसीपुरले बजार क्षेत्रबाट संकलन हुने कुहिने फोहरबाट मल उत्पादन थालेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
त्यस्तै कुहिने फोहरबाट रासायनिक मलको विकल्पमा प्रयोग हुने कम्पोस्ट मल उत्पादन हुने भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले बताए । उनले कुहिने र नकुहिने फोहर छुट्याई सहयोग गरिदिन सबैलाई आग्रह गरे । ‘हामीहरूले अब रासायनिक मलको विकल्पमा प्रयोग हुने कम्पोस्ट मल उत्पादन गरिरहेका छाैं, यसमा विशेषगरी तुलसीपुरका ५ र ६ वटाका टोल विकासले सहयोग गर्नुपर्छ,’ नगर प्रमुख खड्काले भने ।
उनले सरसफाइ अभियान सबैको साझा अभियान भएको बताउँदै यो फोहरलाई मोहर बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए । खड्काले तुलसीपुर बजारमा पहिले प्लास्टिक आतंक भएको भन्दै अहिले प्लास्टिकजन्य फोहरबाट विभिन्न सामग्री बनाउने कार्यक्रम रहेकाले प्लास्टिक नपाइएको बताए । तर, बजारबाट कुहिनेभन्दा नकुहिने फोहर धेरै आउँदा भनेजस्तो उत्पादनमा समस्या भएको बताएको छ । तुलसीपुर बजारमा दैनिक २५ टनभन्दा बढी फोहर संकलन हुने गर्दछ ।
जसमा १७ टन जति नकुहिने फोहर संकलन हुन्छ भने बाँकी कुहिने फोहर संकलन हुने गर्दछ । तुलसीपर बजारको नकुहिने फोहरलाई तुलसीपुर–६ र १२ को सिमानामा पर्ने अस्थायी डम्पिङ साइटमा विषर्जन गरिँदै आएको छ । दातृनिकायको सहयोगमा प्राप्त मेसिनमा ६ हजार किलो कुहिने फोहर राख्दा दैनिक साढे दुई सय केजी उत्पादन गर्ने सकिन्छ । तर कच्चा पदार्थको अभाव रहेको कर्मचारी कृष्ण चौधरीले बताए । अहिले तुलसीपुर उपमहानगरपालिकाले ५, २ र १५ केजीको बोरामा प्याकिङ गरेर बजारमा ल्याएको छ ।
मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लू वेस्ट भ्यूका कार्यकारी निर्देशक नवीनविकास महर्जन बस्नेतले ल्याब परीक्षण गरी उत्पादन भएको कम्पोस्ट मललाई बीजदेखि बारीसम्म प्रयोग गर्न सकिने बताए । उनका अनुसार पालिकाले पाँच सय वटा क्यारेटमा गल्ने फोहोर राखेर दैनिक दुई हजार पाँच सय केजीसम्म मल उत्पादन गर्नसक्ने भौतिक संरचना तयार पारिएको बताए । तुलसीपुर उपमहानगरपालिका–६ मा मल उत्पादनका लागि भौतिक संरचनासमेत तयार पारिएको छ ।
तुलसीपुर–८ अश्वारमा फलफूलका बिरुवा उत्पादन गर्दै आएका किसान बुद्घिराज पौडेलले पालिकाले उत्पादन गर्न थालेको कम्पोस्ट मलबाट रासायनिक मलको प्रयोगलाई कम गर्दै प्रयोगमा ल्याउन सकिने बताए । उनले अब बजारमा रासायनिक मलको अभाव भए पनि विकल्पमा कम्पोस्ट मलको प्रयोगले माटोको उर्वराशक्ति बचाई राख्न सक्ने बताए । पालिकाले नगल्ने फोहोर संकलन गरेर कुर्सी, टेबल, डेस्क, बेन्च, गमलासमेत बनाउँदै आएको छ । पालिकाभित्र दैनिक १९ टन नगल्ने फोहोर संकलन हुने गरेको छ ।