वडाध्यक्षले मध्यरातमा सारे गाउँपालिका केन्द्र «

वडाध्यक्षले मध्यरातमा सारे गाउँपालिका केन्द्र

दोलखा-कालिञ्चोक गाउँपालिकाको केन्द्र विवादका कारण रातारात कार्यालय नै सारिएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ५, ६ का वडाअध्यक्षको नेतृत्वमा आइतबार राति सुनखानीमा रहेको कार्यालयबाट महत्वपूर्ण कागजात निकालेर वडा नं. ५ बान्दे्रथली पु-याएका छन् ।
अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कुर्सीसहित लिएर बिहानसम्म बान्द्रेथलीका रत्नबहादुर खड्काको घरमा नयाँ कार्यालय स्थापना गरेका छन् । खड्काको घर गाउँपालिका कार्यालयका लागि भाडामा लिएका हुन् ।
स्थानीय तहको निर्वाचन सकिएर जनप्रतिनिधि आएसँगै सुरु भएको कालिञ्चोकको केन्द्र विवाद उत्कर्षमा पुगेको हो । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर यसअघि जनप्रतिनिधिहरुबीच कुटाकुट समेत भएको कालिञ्चोकमा पुःन सोही विषयमा लफडा सुरु भएको छ । आइतबार राति वडा नम्बर ४, ५ र ६ का वडा अध्यक्ष सहित १३ जना गाउँ कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गर्दै हाल गाउँपालिकाको केन्द्र रहेको सुनखानीबाट लापिलाङ बान्द्रेथली लगेका हुन् ।
गाउँपालिकाको केन्द्र बान्द्रेथलीमा राख्ने निर्णय भएपनि जवर्जस्ति सुनखानीमा राखिएकोले सर्वसम्मत निर्णय भएको ठाउँमा कार्यालय राख्न कागजात तथा कुर्सीहरु सारिएको वडा नम्बर ५ का वडा अध्यक्ष सुबास थामीले बताए । आइतबार राती केही संख्यामा आएका जनप्रतिनिधि सहित स्थानीयले गाउँपालिकाको कागजात र कुर्सीहरु बोलेरोमा राखेर बान्द्रेथली लगेका थिए ।
गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँ कार्यपालिका र गाउँ सभाले निर्णय गरेर वडा नम्बर ५ (साविक लापिलाङ गाविस) को बान्द्रेथलीमा केन्द्र राख्ने निर्णय भएको बताए । स्थानीयले सोही निर्णय कार्यान्वयनको लागि सुनखानीमा रहेको गाउँपालिकाको कागजातहरु, कुर्सी लगायतका सामग्री लगेको बताएका छन् । अध्यक्ष थामीले अब गाउँपालिकाको केन्द्र बान्द्रेथलीमै रहने र नियमीत काम समेत बान्द्रेथली केन्द्रबाटै सञ्चालन हुने दाबी गरे । लापिलाङमा भने स्थानीयले सोमबार दिउँसो विजय उत्सव मनाएका छन् ।

उपाध्यक्ष पाठकको आरोपः कार्यालय चोरी भयो
गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले भने आइतबार राति कालिञ्चोक गाउँपालिकाको केन्द्र सुनखानीबाट अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, लेखा शाखाका महत्वपूर्ण कागजातहरु लगायतका सामग्रीहरु चोरी भएको बताइन् । घटनाको जानकारी स्थानीय प्रशासन लगायत पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल सहितको टोलीले सुनखानीमा रहेको कार्यालयको स्थलगत निरीक्षण समेत गरेका छन् ।
उपाध्यक्ष पाठकले अहिले गाउँपालिकाको केन्द्र विवाद नरहेको र केन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँसभामा मतदान भएर त्यसको आधारमा टुङ्गो लाग्ने जानकारी दिइन् । उपाध्यक्ष पाठकले केन्द्रको विषयमा एक पक्षले लापिलाङमा हुनुपर्ने भनेर प्रदेशमा पठाएको भएपनि प्रदेश सरकारले प्रकृया नपुगेको भन्दै कुनै निर्णय फिर्ता गरेको बताइन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले हाल सरकारले तोकेको ठाँउनै गाउँपालिकाको आधिकारीक केन्द्र भएकोले जनप्रतिनिधिहरुको समेत संलग्नतामा कार्यालय तोडेर सामग्री लानु गैर कानुनी काम भएको बताएका छन् ।
कालिञ्चोक गाउँपालिकाको कार्यालयबाट सामान लगेको विषय राजनीतिक रुपमा कसरी हेर्ने त्यो अर्को पाटो होला तर कार्यालय तोडफोड गरी सामान लानु गैर कानुनी काम भएकोले स्थानीय प्रशासनले त्यसलाई कानुनी प्रकृया अनुसार नै कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । कार्यालयका कर्मचारीहरुले भने सोमबार सुनखानीमै हाजिर गरेका गरेका छन् ।
कार्यालयको विवाद भएपछि सोमबार वडा नं. २ बाबरेमा आयोजना गरेको विकास शिविर स्थगित भएको छ । योजनाहरुको स्टमेट तयार गरी उपभोक्ता समिति गठन गरेर आइतबार अनुशिक्षण समेत सम्पन्न भएको थियो । सोमबारदेखि वडा नं. २ देखि वडा नं. ८ सम्मको विकास शिविरको तालिका सार्वजनिक गरे तापनि त्यो कार्यक्रम तत्कालका लागि रोकिएको छ ।
विगत २ वर्षमा पनि केन्द्र विवादमा अध्यक्ष थामी र उपाध्यक्ष पाठकबीचको विवादका कारण विकासे योजना अवरुद्ध भएका थिए । यस वर्षदेखि केन्द्र विवाद नझिक्ने र योजनाका काममा लाग्ने सहमतिमा विकास शिविर गरेर योजना अघि बढेको इन्जिनिर नारायण शिवाकोटीले बताए । अध्यक्ष थामी केन्द सबैको केन्द्र विन्दु लापिलाङ हुने भन्दै त्यहाँ राख्न चाहन्छन् । तर उपाध्यक्ष पाठक भने यातायात र अन्यत्र निर्णय नहुँदा साविककै स्थान हुनु पर्नेमाछन् ।

प्रतिक्रिया दिनुहोस्