Logo

तीन वर्षमा सात सय उद्योग दर्ता

बाजुरा– बाजुरामा तीन वर्षको अवधिमा सात सय नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक २०७८/७९ देखि हालसम्म जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता भएका हुन् । उद्योग दर्ता गरेवापत कार्यालयमा ४७ लाख राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४२५ वटा उद्योग दर्ता गरिएको घरेलुले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा २२२ र आर्थिक वर्ष २०८०/८१ को हालसम्म ११९ नयाँ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाजुराका सूचना अधिकारी पदमबहादुर ऐरले बताए । कार्यालयमा तीन वर्षमा कृषि तथा पशुपन्छी, सिलाइ कटाइ, ठेक्का र होटल सम्बन्धी ७६६ उद्योग दर्ता भएका सूचना अधिकारी ऐरले बताए ।

उनका अनुसार तीन वर्षमा जिल्लामा ४ सय बढीलाई सीप विकास र उद्यमशीलता विकास तालिम दिन एक करोड १८ लाख रुपैयाँ खर्च भएको छ । सो तालिमका लागि तीन वर्षमा आएको १ करोड ४१ लाखमध्ये १ करोड १८ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी ऐरले बताए । करौडौं रुपैयाँ लागनी गरेर तीन वर्षमा जिल्लामा ४ सय बढीलाई सीप विकास तालिम दिए पनि अहिलेसम्म १५० जना जतिले मात्रै व्यवसाय सञ्चालन गरिरहेका सूचना अधिकारी ऐरले बताए ।

पूर्ण रूपमा तालिम सिक्न नपाउनु, तालिमपछि लगानी गर्न नसक्दा सीप सिकेका मध्ये धेरैले व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा पशुपन्छीजन्य उद्योग कार्यालयमा दर्ता भएका छन् । तीन वर्षको अवधिमा दर्ता भएका उद्योगहरूबाट कार्यालयले करिब ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चार सयलाई तालिम
गत आर्थिक वर्ष ०७८/७९ देखि हालसम्म घरेलु तथा साना उद्योग कार्यालय बाजुराबाट ४३० जनालाई सीप विकास तालिम दिइएको छ । जिल्लाका ९ वटै स्थानीय तहले छनोट गरेर घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा तीन वर्षमा ४ सय ३० जनालाई सीप विकास तालिम र उद्यमशीलता विकास तालिम दिइएको कार्यालयले जनाएको छ ।

जसमा सीप विकास तालिम लिएकाहरूले अनिवार्य रूपमा उद्यमशीलता विकास तालिम लिनुपर्ने हुन्छ । आर्थिक वर्ष ०७८/७९ मा १४० जनालाई तालिम दिइएको छ भने आर्थिक वर्ष ०७९/८० मा १९४ र आर्थिक वर्ष ०८०/८१ को हालसम्म ९६ जनालाई सीप विकास र उद्यमशीलता विकास तालिम दिएको ऐरले बताए ।

प्रतिक्रिया दिनुहोस्