युएसएआइडीद्वारा ११ अर्ब रुपैयाँ सहायता घोषणा

काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले करिब ११ अर्ब रुपैयाँ सहायता दिने भएको छ । विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न यो सहयोग उपलब्ध हुनेछ ।
यो पाँच वर्षको अवधिका लागि हो । उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरू प्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबीच विद्यमान साझेदारीलाई थप मजबुत बनाएको नियोगले जारी गरेको विज्ञप्तिमा छ ।
यसबारे काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भनिन, ‘नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि साझेदारको रूपमा रहेको छ । यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि विद्यालयको ढोका खोल्न जारी राख्नेछन् र युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्याउन मद्दत गर्नेछन् ।’