Logo

भरतपुरको उद्यमशीलतामा जोड

फाइल तस्बिर ।

चितवन– भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताएकी छिन् । भरतपुर २२ को १६ शैयाको नवनिर्मित अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै दाहालले भरतपुरमा पूर्वाधार विकास प्रर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताइन् ।

महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखनीय काम भइसकेकाले अब भरतपुरवासी उद्यमशीलतामा लाग्ने उनको भनाइ छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्, उनले भनिन,‘ शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेन्डा हाम्रो हो ।’

२२ नम्बर वडाको कार्यालय निर्माण पछि व्यवस्थित ढंगबाट सेवा प्रवाह हुने अपेक्षा लिएको दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विशेषज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

एसियाली विकास बैंक, जेएएफपिआरको अनुदान सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत १ करोड ६६ लाख रुपैयाँको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भरतपुर–२२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको बताए । वडाले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ थियो । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विशेष काम अगाडि बढाइरहेको पनि उनले बताए ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्