Logo

दुग्ध उत्पादक किसानद्वारा ज्ञापनपत्र

धादिङ– दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा बेहोर्नु परेका समस्या समाधान गर्न दुग्ध उत्पादक किसानले ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र बागमती प्रदेश सरकारका मुख्यमन्त्रीलाई किसानहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

धादिङको महादेवेसीमा रहेको दुग्ध विकास संस्थानको संकलन केन्द्र अन्यत्र नर्सान माग गर्दै प्रजिअलाई दुग्ध उत्पादक सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र पण्डितले पनि छुट्टै ज्ञापनपत्र बुझाएका छन् । १८ बुँदे ज्ञापनपत्रमा दूधको भुक्तानी गर्न बाँकी रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्नुपर्ने रहेको छ ।

दूधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गर्नुपर्नेलगायतका छन् ।

लम्पी स्किन रोगबाट क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत उपलब्ध गराइ पीडित किसानलाई राहत र पुन:स्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याउनु पर्ने, बीमित किसानको शतप्रतिशत बीमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने, नि:शुल्क तथा न्यून मूल्यमा दूध तथा दुग्धजन्य पदार्थको बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने माग उनीहरूले ज्ञापनपत्रमा राखेका छन् । ज्ञापनपत्रमा पेश गरिएका माग पुरा नभए आन्दोलन गर्ने भन्दै उनीहरूले कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्