एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच शनिबारदेखि एकीकृत कारोबारको शुभारम्भ भएको छ । दुवै संस्था गाभिएपश्चात् बैंकको चुक्तापुँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरी कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ भने मर्जपश्चात् बैंकको नाम एनएमबी बैंक र मुख्य कार्यालय एनएमबी भवन, बबरमहल, काठमाडौं रहको बैंकले जनाएको छ ।
दुवै संस्था गाभिएपश्चात्को एनएमबी बैंकको तीन नम्बर प्रदेशमा शाखाहरूको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरी कुल शाखा सञ्जाल १ सय ६३, एटीएमहरूको सञ्जाल १ सय २८ पुगेको छ भने एक्स्टेन्सन काउन्टरहरूको संख्या ५ पुगेको भन्दै बैंकले एकीकृत कारोबारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको उपस्थितिमा गण्डकी प्रदेशको पोखरामा भएको जनायो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाइएको थियो ।