Logo

लगानी सम्मेलन

सबै मिलेर लगानी भित्र्याउने वातावरण बनाउनुपर्छ

काठमाडौं– आगामी वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनको तयारी सरकारले तीव्र पारेको छ । तेस्रोपटक हुन लागेको लगानी सम्मेलन प्रभावकारी बनाउन लगानी बोर्डले सम्बन्धित निकाय, निजी क्षेत्र तथा विज्ञहरुसँग सुझाव संकलन र छलफल गर्ने काम गरिरहेको छ । सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा स्वदेशी लगानीकर्ता भने उत्साहित छैनन् । बैंकमा पैसा थन्किएर बसेको छ । यो अवस्थामा सरकारको लगानी सम्मेलन प्रभावकारी र उत्साहजनक नहुने हो कि भन्ने आशंका पनि छ ।

पूर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटा भन्छन्, ‘स्वदेशमा लगानीको वातावरण बनाउने जिम्मेवारी एक्लो सरकारको मात्र होइन । सबैले आफ्नो ठाउँबाट विदेशी लगानी भित्र्याउने वातावरण बनाउनुपर्छ । सरकारले ठूलो लगानी भित्र्याएर स्वदेशमा रोजगारी सिर्जना गर्ने र देशलाई आर्थिक समृद्धिमा लैजाने उद्देश्यले पटक पटक लगानी सम्मेलन गर्दै आएको हो । सरकारले आफ्नो तर्फबाट नीतिगत सुधार गर्ने र निजी क्षेत्रले पनि आफ्नो तर्फबाट सरकारसँग सहभागी भएर विदेशी लगानी भित्र्याउने सकारात्मक काम गरेर वातावरण बनाउनुपर्छ ।’ विदेशी लगानीमाथि कुनै पनि विज्ञ वा मिडियाले पनि गलत र नकारात्मक टिप्पणी गर्नु नहुने उनी बताउँछन् । ‘आफ्नो तर्फबाट सकारात्मक वातावरण सिर्जना गरी नेपालमा लगानीको वातावरण बनाउनुपर्छ,’ बाँस्कोटा भन्छन् ।

लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिए । उनले निजी क्षेत्र र स्वदेशी तथा विदेशी कूटनीतिज्ञहरुसँग सुझाव संकलन गरिरहेको बताए । सम्मेलनमा कति देशका प्रतिनिधिलाई सहभागी गराउने विषयमा बोर्डले गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

आउने सातासम्ममा यसको टुंगो लाग्ने उनको भनाइ छ । सरकारले पहिलो पटक २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा २३ राष्ट्रका २५० कम्पनीका लगानीकर्ता सहभागी भएका थिए । सम्मेलनमा जलविद्युत, ऊर्जा, कृषि, पूर्वाधार, पर्यटन र खानीलाई प्राथमिकता दिइएको थियो ।

सम्मेलनबाट करिब १४ खर्ब रुपैयाँ लगानीको प्रतिबद्धतासमेत भएको थियो । जसमा चीन, बंगलादेश, जापान, बेलायत, श्रीलंका, भारतलगायतका लगानीकर्ताहरू थिए । यसैगरी सरकारले फेरि विदेशी लगानी भित्र्याउन दोस्रो पटक २०७५ चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरेको थियो । सरकारले देस्रो लगानी सम्मेलन गर्दा ५० वटा निजी क्षेत्रका समेत कुल ७७ वटा परियोजना राखेको थियो । सम्मेलनमै विभिन्न १५ वटा आयोजनाको समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । १७ वटा परियोजनामा आवेदन परेको थियो ।

यातायात पूर्वाधारतर्फ ७, ऊर्जातर्फ ४, कृषिका ३, शिक्षा तथा स्वास्थ्यका २ र ढुवानी पूर्वाधारको एउटा परियोजनाका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका थिए । विभिन्न परियोजनामा सहभागी लगानीकर्ताले सम्मेलनमा करिब १२ खर्ब १५ अर्ब रुपैयाँ प्रतिबद्धता गरेका थिए । सरकारी तथ्यांक हेर्दा लगानी सम्मेलनमा गरेको लगानी प्रतिबद्धताअनुसार विदेशी लगानी आएको पाइँदैन । लगानी बोर्डले पछिल्लो ६ महिनामा १ खर्ब ९८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ भने उद्योग विभागले २२ अर्बको लगानी स्वीकृत गरेको छ ।

गत वर्ष पुष मसान्तसम्म लगानी बोर्डबाट विदेशी लगानी स्वीकृति भएको थिएन । विभागले भने गत वर्ष १७ अर्ब ३० करोडको लगानी स्वीकृत गरेको थियो । गत वर्ष २७ वटा उद्योगका लागि लगानी स्वीकृत भएकोमा यो वर्षको सोही अवधिमा २ सय ३० वटा उद्योगमा लगानी स्वीकृत भएको छ । उद्योग विभागका निर्देशक शंकरसिंह धामीका अनुसार यो वर्ष २८ वटा वैदेशिक लगानी भएका उद्योगले ४ अर्ब थप लगानी गर्न स्वीकृति पाएका छन् । लगानी स्वीकृति मात्रै है,न वास्तविक रूपमा भित्रिएको लगानी पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत वर्षको ६ महिनामा २ अर्ब ४१ करोड लगानी भित्रिएकोमा यो वर्षको सोही अवधिमा ३ अर्ब ९३ करोड अर्थात् गत वर्षभन्दा ६३ प्रतिशत बढी आएको छ । लगानी बढेको देखिए पनि यो वर्ष मुनाफा बापत बाहिरिने रकम भने गत वर्षभन्दा कम छ । गत वर्ष १० अर्ब ९९ करोड रकम बाहिरिएकोमा यो वर्षको सोही अवधिमा २ अर्ब हाराहारीमात्रै बाहिरिएको छ । उद्योग विभागमा सुरुको अवस्थादेखि चालु आर्थिक वर्षको पुससम्ममा २ खर्ब २६ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । यस्तै प्रस्ताव भने हालसम्म २२ खर्ब ३३ अर्बको भएको छ ।

गम्भिरताका साथ तयारी गर्न निर्देशन
तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार बसेको छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिएका छन् ।

‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ । विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो ।’

बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यदलले उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले विभिन्न ऐन संशोधनको प्रस्ताव गरेको छ ।

आईडी सम्मेलन नेपालमा हुने
विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार आगामी जुनमा सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए । यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ । सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्