Logo

कृषिलाई दिगो उद्योगमा रूपान्तरण गर्न माग

‘प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ नारासहित बुटवलमा ११ औं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल रामनगरस्थित बुटवल मण्डपमा सञ्चालित मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गरे ।
कार्यक्रममा प्रदेश प्रमुख झाले कृषि उत्पादन बढाउन र नगदे बालीबाट तत्काल लाभ लिने नीति सरकारले बनाउनुपर्नेमा जोड दिए । विगतमा नेपालले दक्षिण एसियाली देशमा खाद्यान्न निर्यात गर्ने गरेको उदाहरण दिँदै उनले अहिले नेपाल खाद्यान्न आयात गर्ने देशमा रूपान्तरण भएकाले नीतिमा भएको कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले कृषिप्रधान मुलुकमा वार्षिक करिब ३ खर्ब रुपैयाँको कृषिउपज विदेशबाट आयात हुनु लज्जाजनक विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुने गरी नीति तथा कार्यक्रम बनाउन माग गरे । कृषिलाई दिगो उद्योगमा रुपान्तरण गरी नेपाललाई समृद्ध बनाउने हिसावले सरकारले नै विशेष योजना ल्याउनुपर्नेमा उनको जोड थियो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा जान बाध्य युवालाई प्रविधिसहितको कृषिका माध्यमबाट स्वरोजगार बनाउन सके मात्रै नेपाल आत्मनिर्भर हुनसक्ने बताए । कृषि विभागका निमित्त महानिर्देशक सूर्य पौडेलले रासायनिक मल तथा विषादीको जथाभावी प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पर्न गएकाले प्राङ्गारिक कृषि पद्धति अवलम्बन गरी स्वस्थ उत्पादनलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले प्राङ्गारिक कृषि मेला आयोजना गरिएको बताए ।
फागुन ७ गतेसम्म चल्ने मेलामा १ सय ३० वटा स्टल राखिएको छ । मेलामा देशका विभिन्न भागमा उत्पादित प्राङ्गारिक कृषि वस्तु र प्रविधिहरूको प्रदर्शन एवम् प्रतियोगिता, बाली उपचार शिविर, माटो परीक्षण, प्राङ्गारिक कृषि खेती सम्वन्धमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बल्छी प्रतियोगिता, दुग्धपान प्रतियोगिता, प्रादेशिक र क्षेत्रीय प्राङ्गारिक कृषि विज्ञको भेला, प्राङ्गारिक कृषि सूचना केन्द्र र कलाकारहरूको प्रस्तुति आकर्षणको रुपमा समावेश गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्