सरकारमा गएन माओवादी

नेकपा माओवादी केन्द्र तत्काल सकारमा सहभागी नहुने भएको छ । बिहीबार प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी नजाने भएको हो ।
आफ्नै समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाएको माओवादी पार्टी एकतामा एमालेले हलो अड्काएको भन्दै सरकार सहभागी नहुने भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एकता गर्ने गरी गठबन्धन बनाएका दुई दलबीच एकताको विषयमा बुधबारसम्म लगभग सहमति जुटिसकेको थियो । ओली र दाहाल दुवै एकीकृत पार्टीको अध्यक्ष बन्ने, ओली प्रधानमन्त्री बन्दा दाहालले पार्टी बैठकको नेतृत्व गर्ने गरी सहमति बनेको थियो । साथै ओली तीन वर्ष र दाहाल दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति समेत बनेको थियो । पार्टीको संगठनात्मक संरचना मिलाउन कार्यदल बनाउने र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बागवण्डा समेत करिब सहमति भइसकेको थियो ।
तर, बुधबार राति भएको संयुक्त बैठकमा एकीकृत पार्टीको विचार के हुने भन्ने बारेमा दुई दलबीच सहमति जुट्न सकेन र माओवादी सरकारमा सहभागी नहुने अवस्था आयो । बैठकमा एमाले नेता माधवकुमार नेपालले एमाले जनताको बहुदलीय जनवाद (जबज)बाट पछि हट्न नसक्ने बताए । नेपालको भनाइमा ओलीलगायतका एमाले नेताले समेत समर्थन गरेपछि माओवादी चिढिएको स्रोतको दाबी छ । माओवादीले जबज र २१ औं शताब्दीको जनवादका राम्रा पक्षलाई समेटेर नयाँ विचार निर्माण गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर एमाले नेताहरूले जबज छोड्ने त के छलफल समेत चलाउन नसकिने बताएपछि कुरा बिग्रिएको एक नेताले जानकारी दिए । “बुधबार दिँउसोसम्म सकारात्मक ढंगले कुरा अघि बढेको थियो । तर राति एमालेले जबज छोड्न नसकिने अडान लियो र कुरा बिग्रियो,” ती नेताले भने ।
एमालेले जबजको अडान लिएर पार्टी एकता भाँड्न खोजेको माओवादीले निष्कर्ष निकालेको छ । नेतृत्वको विषयमा लगभग सहमति जुटिसकेको अवस्थामा एमालेले विचारमा हलो अड्काएर एकता भाँड्ने प्रपन्च रचेको माओवादीको आरोप छ । “एमालेले विचार देखाएर एकताबाट पछि हट्ने नीति लिएको देखिन्छ,” एक माओवादी नेताले भने, “माओवाद, २१ औं शताब्दीको जनवादलगायतका हाम्रा सिद्धान्त छोडेर एकता गर्न सकिन्न ।”
जनवादको बहस सकिएर समाजवादको बहस सुरू भइसक्दा एमालेले जबज देखाउनु एकता गर्न नचाहनु भएको माओवादीको निष्कर्ष छ । पार्टी एकता गर्ने हो भने एमाले आफ्नो अडानबाट पछि हट्नुपर्ने माओवादीले बताएको छ र उसले यही अवस्थामा सरकारमा नजाने निचोड निकालेको छ । “एमालेले पेल्न खोज्यो । यही अवस्थामा सरकारमा जाने कुरा आउँदैन । सहमति खोज्न एमाले तयार भएर सहमति भएमात्र सरकारमा जान्छौ,” ती नेताले भने, “अहिले हामी बाहिर बसेर समर्थन गर्छौ । एमालेले अडानबाट पछि नहटे सरकारलाई हाम्रो समर्थन रहन्छ तर सहभागी हुँदैनौं ।” बिहिबार बिहान माओवादी अध्यक्ष दाहालले आफू निकटका नेताहरूलाई बुधबारको संयुक्त बैठकबारे ‘ब्रिफ’ गर्दै एमाले विचारको बखेडा निकालेर समस्या आएको बताएका थिए । माओवादी सरकारमा सहभागी नभएपनि दाहाल भने पूर्वप्रधानमन्त्रीको हैसियतमा शपथग्रहण समारोहमा सहभागि भएका थिए ।
पार्टी एकीकरणको कुरा नटुंगिएसम्म सरकारमा जाँदैनौं : प्रचण्ड सिन्धुली- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणको कुरा टुंग्याएर मात्र सरकारमा जाने बताएका छन् । पार्टी एकीकरणको विषय नटुंगिएसम्म माओवादी केन्द्रबाट मन्त्री मण्डलमा कोही नजाने उनले स्पष्ट पारे । दुई पार्टीबीच नेतृत्वको विषय टुंगिसकेको बताउँदै उनले अन्य केही प्राविधिक कुरा भने केही दिनमा नै मिल्ने बताए । सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित कृषि तथा वन विज्ञान विश्व विद्यालय, कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पको भवन शिलान्यास तथा कक्षा उदघाट्न समारोहलाई सम्बोधन गर्दै दाहालले व्यावसायीक र प्राविधिक शिक्षा विना नेपालको विकास सम्भव नभएको बताए । उनले कृषि क्षेत्रको विकास विना आर्थिक क्रान्ती सम्भव नभएको भन्दै अब बन्ने बाम गठबन्धनको सरकारले अनुसन्धान सहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने बताए । |