Logo

निगमको बजार हिस्सा १४.२० प्रतिशतमा खुम्चियो

फाइल तस्बिर ।

काठमाडौं– काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१ हजार १३७ यात्रुमध्ये नेपाल एयरलाइन्सको हिस्सा १४.२० प्रतिशतमा खुम्चिएको हो । निगमले ६ लाख ४५ हजार १६६ यात्रुलाई सेवा दिँदा कुल बजार हिस्साको १४.२० प्रतिशतमात्र ओगट्न सफल भएको हो । यो संख्या नेपालमा उडान भर्ने वायुयान कम्पनीहरूको भन्दा बढी भए पनि विगत वर्षहरूको तुलनामा भने धेरै नै कम हो ।

अन्तर्राष्ट्रिय यात्रुको संख्यामा उल्लेख्य वृद्धि हुँदा निगमको यात्रु भने घटेका छन् । २०२२ मा निगमको बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा थियो । जुन सन् २०२१ को तुलनामा पनि कम हो । २०२० मा भने सात प्रतिशतले बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो । २०१९ मा एकै पटकमा सात प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो ।

निगमको बजार हिस्सा सन् २०१७ मा १० प्रतिशत थियो । १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत कायम भएको थियो । सन् २०२१ मा कोरोना महामारीमा पनि निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो । सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा थियो । सन् २०२३ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि भएको छ ।

सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थल हुँदै ३१ हजार चार सय ६० उडान अवतरणमार्फत ४५ लाख ४१ हजार एक सय ३७ जना हवाई यात्रुले भ्रमण गरेका छन् । जसमा नेपालबाट विश्वका विभिन्न देश पुग्ने यात्रुको संख्या २४ लाख २० हजार सात सय ८७ रहेको छ । नेपाल प्रवेश गर्ने यात्रुको संख्या २१ लाख २० हजार ३ सय ५० रहेको छ । जुन हवाई यात्रुको संख्या हालसम्मकै उच्च भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

निगमको चार विमानले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । जसमा २५४ सिट क्षमताका दुई वटा वाइडबडी र एक सय ५० सिट क्षमताका दुई वटा न्यरोवडी विमान छन् । सन् २०२३ मा कुल ३१ हजार चार सय ६० वटा उडान तथा अवतरण भएको छ । जसमा १५ हजार सात सय ३० वटा उडान तथा १५ हजार सात सय ३० वटा अवतरण भएको छ । निगमपछि कतार एयरलाइन्सले ६ लाख २७ हजार यात्रुलाई सेवा दिएको छ ।

कतारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन लाख २६ हजार र तीन लाख यात्रुलाई काठमाडौं अवतरण गराएर सेवा दिएको छ । तेस्रोमा हिमालयन एयरलाइन्सले चार लाख ६२ हजार ७६४ जना यात्रुलाई सेवा दिएको छ । त्यस्तै, इन्डिगोले चार लाख ४९ हजार नौ सय ९२, एयर इन्डियाले चार लाख ५६ हजार ६ सय ९४ यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्