१८ जनाले पाए आमाको नामबाट नागरिकता

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङमा आमाको नामबाट नागरिकता लिनेको संख्या १८ पुगेको छ । गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक प्रमाणीकरण गरेसँगै आमाको नामबाट नागरिकता लिनका लागि बाटो खुलेको हो । बाबुको पहिचान नहुँदा नागरिकताको लिनबाट वञ्चित भएका जिल्लाका १८ जनाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा गत साउन १२ गते पहिलो पटक आमाको नामबाट नागरिकता वितरण भएको छ । साउनमा मात्रै चार जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए । प्रशासन कार्यालयबाट भदौमा पनि चार जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने असोजमा ६ जना, कात्तिक र मसिरमा दुई/दुई जनाले आमाको नामबाट नागरिकता लिएका छन् ।
आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भएपनि अझैपनि केही कानुनी जटिलताका कारण सो प्रकृतिको नागरिकता वितरणमा सहज नभएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । कानुनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने व्यवस्था भएपनि कतिपय व्यक्तिको जन्म दर्ता, शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको प्रजिअ अधिकारीको भनाइ छ ।
कानुनी जटिलताको बाबजुत पनि आवश्यक प्रक्रिया पुरा गरेकाहरुलाई भने नागरिकता पाएसँगै सहज भएको प्रजिअ अधिकारीले बताए । नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवं अन्य सरकारी तथा गैरसरकारी सेवा प्रवाहमा समस्या भोग्दै आएकाहरुलाई नागरिकता पाएसँगै सेवा प्रवाहमा सहज पहुँच पुगेको प्रजिअ अधिकारीको भनाइ छ । नेपालको संविधान २०७२, जारी हुनुअघि नेपालमा जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बाबुआमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था थियो ।
सो अवस्थामा बाबुको पहिचान नभएका नागरिक नागरिकताविहीन हुँदै आएका थिए । तर संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न सरकारले नागरिकता विधयेक जारी गरी बाबुको पहिचान नभएकालाई पनि आमाको नामबाट नागरिकता दिने व्यवस्था सुरु गरेपछि सम्बन्धीत नागरिक लाभान्वित भएका छन् । आमाको नामबाट नागरिकता वितरणसँगै प्रशासन कार्यालयबाट अहिलेसम्म आठ जना गैरआवसिय नेपालीले पनि नागरिकता लिएका छन् ।
प्रशासन कार्यालय लमजुङका अनुसार सरकारले गैरआवसिय नागरिकलाई नागरिकता वितरण गर्ने प्रावधान ल्याएसँगै जिल्लामा कात्तिकबाट सो प्रकारको नागरिकता वितरण सुरु भएको हो । कात्तिकदेखि हालसम्म आठ जनाले गैरआवसिय नागरिकता लिएकोमा मसिरमा ६ जना र कात्तिकमा दुई जनाले सो नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ ।