व्यापारिक फर्म दर्ता प्रदेश कार्यालयमै

धनगढी– संघीय कार्यालयमा मात्रै दर्ता नवीकरण भइरहेका व्यापारिक फर्महरू अव प्रदेश कार्यालयमा दर्ता नवीकरण गर्ने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारिक फर्महरू दर्ता तथा नवीकरण गर्ने व्यवस्था गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय कैलालीले पुस १ देखि व्यापारिक फर्म दर्ता गर्न सुरु गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख कोमलप्रसाद ओझाले प्रदेश सरकारको निजी व्यवसाय ऐन २०७६ र साझेदारी व्यवसाय ऐन २०६७ बमोजिम घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारिक दर्ता गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको निर्देशन बमोजिम दर्ता गर्न थालिएको बताए ।
उनले हाल रहेकै कर्मचारीमध्ये केहीलाई वाणिज्यको जिम्मेवारी दिएर मौजुदा संरचनामा व्यापारिक फर्म दर्ता गर्न थालेको जानकारी दिए । संविधानको अनुसूची ६ को बुँदा नं. ११ ले प्रदेशभित्रको व्यापार प्रदेशमा दर्ता हुने व्यवस्था गरेको छ । सोही बमोजिम प्रदेश सरकारले व्यवसाय दर्ता ऐन बनाएर व्यापारिक फर्म दर्ता गर्ने व्यवस्था मिलाएको हो ।
सो ऐन बमोजिम प्रदेशमा हुने स्थानीय व्यापार दर्ता गर्ने व्यवस्था मिलाइएको हो । संविधानको अनुसूची ५ को बुँदा १८ ले अन्तर्राष्ट्रिय व्यापार संघको अधिकार सूचिमा राखेको छ । संघीय सरकार अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्त हित संरक्षण कार्यालयले अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्ने फर्म बाहेक प्रदेशभित्रका व्यापारिक फर्मलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।
कार्यालय प्रमुख ओझाले ती फर्महरूको सक्कलै फाइलहरू प्रदेशमा हस्तान्तरण भई आएपछि ति फर्महरूको नवीकरण, संशोधन र खारेजी सेवा समेत प्रदान गर्ने बताए । निजी र साझेदारी व्यवसाय ऐनले स्थानीय, प्रदेश र अन्तर्देशीय व्यवसाय दर्ता, नवीकरण सम्बन्धी स्पष्ट व्याख्या गरेको छैन । हाल कतिपय व्यापारिक फर्महरू स्थानीय तहले समेत दर्ता, नवीकरण गरिरहेका छन् ।
यसैगरी, घरेलु तथा साना उद्योग कार्यालय प्रदेश सरकार अन्तर्गत भए पनि स्थानीय तहहरूले समेत त्यस्ता उद्योगहरू दर्ता गरिरहेका छन् । जसले गर्दा प्रदेशको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन वडाको सिफारिस अनिवार्य गरिएको हुँदा त्यस्ता उद्योगहरू सिफारिसको लागि पनि वडा कार्यालयमा उद्योग दर्ता गर्न बाध्य भएका हुन् ।