अराजक गतिविधि रोक्न माग

काठमाडौं– बैंक वित्तीय संस्थाका तीन वटै संगठनले दुर्गा प्रसाईं नेतृत्व समूहको गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति र समूहले वित्तीय संस्था र कर्मचारीप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै अराजक घट्नालाई समयमै नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक झापाको बिर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई प्रहरीकहाँ पुर्याएको घटना सार्वजनिक भएको भन्दै बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दोषीमाथि कारबाहीको माग गरेका हुन् । ‘एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरूलाई कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
ग्राहकलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थिीतीमासमेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरू माथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनीय रहेको विज्ञप्तिमा जनाइएको छ । ‘वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरूसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिनएको छ ।
बैंकिग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूसँग अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । दुर्गा प्रसाईं अहिलेको राज्य व्यवस्थाविरुद्ध आन्दोलनमा छन् । उनले मंसिर ७ देखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’का नाममा ऋण मिनाहा गर्नेदेखि राजा फर्काउनेसम्मका नारासहित काठमाडौं केन्द्रित आन्दोलन पनि गरेका थिए ।