भरतपुरको सेवा प्रवाहमा स्थानीय असन्तुष्ट «
Logo

भरतपुरको सेवा प्रवाहमा स्थानीय असन्तुष्ट

चितवन– भरतपुर महानगरपालिकाको सेवा प्रवाहमा नागरिक असन्तुष्ट रहेका छन् । चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्ममा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् । सार्वजनिक सुनुवाइका क्रममा वडावासीले महानगरबाट प्राप्त हुने सेवा अझै जनमुखी हुन नसकेको बताए । उनीहरुले महानगरको विकास निर्माण र सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिइन् । उनले महानगरको गौरवको आयोजनाको रुपमा रहेको सिटिहल निर्माण सम्पन्न हुने चरणमा रहेको बताउँदै क्रिकेट रंगशालाको कामसमेत एक महिना भित्र सबै प्रक्रिया पुरा गरी सुचारु हुने बताइन् । चौमासिक प्रगति समीक्षामा नगरवासीको रचनात्मक सुझाव र विकासमा तीव्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरले योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढी रहेको बताउदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले आर्थिक बर्ष २०८०/८१ को विनियोजित बजेट ६ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ रहेकोमा चार महिनामा १४ दशमलव ३४ प्रतिशत खर्च भएको जानकारी दिए । यस्तै चालु बजेटतर्फ २ करोड अर्ब ६७ करोड १४ लाख ८४ हजार रुपैयाँ विनियोजित भएकोमा ६० करोड ७८ लाख ४७ हजार खर्च भएको उनले बताए । जुन समग्र बजेटको २२.२४ प्रतिशत प्रगति हो ।

यस्तै उनले पुँजीगततर्फ तीन अर्ब ७२ करोड ६५ लाख रुपैयाँ विनियोजन भएकोमा ३२ करोड ८४ लाख ३९ हजार रुपैयाँ खर्च गरिएको बताए । यो समग्र पुँजीगत खर्चको ८.८१ प्रतिशत हो । महानगरले लिएको राजस्व लक्ष्यमध्ये प्रथम चौमासिकसम्म ३३ करोड १९ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरिएको रकमको १९ प्रतिशत हो । यसैगरी न्यायिक समितिमा ४७ वटा उजुरी प्राप्त भएकोमा ३२ वटा फस्र्यौट भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्