सुन्तलाखेतीबाट वार्षिक २५ लाख आम्दानी

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा विगत ३२ वर्षदेखि सुन्तला खेतीमा आबद्ध छन् । कृषि प्रसार अधिकृतको रुपमा सेवा निवृत्त भएदेखि उनी पूर्णरूपमा सुन्तला खेतीमा लागेका हुन् । थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । चार सय बोट सुन्तलाबाट वर्षेनी २५ लाखभन्दा बढी आम्दानी भइरहेको थापाले जानकारी दिए ।
सुन्तला खेतीमार्फत् आर्थिक उपार्जन गर्दै आएका थापा कृषि विज्ञ पनि हुन् । उनले भने, ‘३५ वर्ष नेपाल सरकारको कृषि प्रसार अधिकृतको रुपमा कार्य गरेर सेवानिवृत्त पश्चात पुख्र्यौली पेशा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु । सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ । यसमा सन्तुष्ट छु ।’ यस वर्षको सुन्तलाको ठेक्का २५ लाखमा काठमाडौंका व्यापारीलाई दिएको उनले बताए ।
उनले भने, ‘उमाचोकका कृषकले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन् । यसले गर्दा सहज भएको छ ।” थापाले सुन्तलाखेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन् । उमेर अवस्थाका कारण पेशालाई निरन्तरता दिन कठिन रहेको बताउँदै उनले भने, ‘छोराछोरी स्वदेश फर्किएर यही पेशा निरन्तरता गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।’ तीन फिटको खाल्डा खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्क सके छिटो उत्पादन हुन सक्ने उनको सुझाव छ ।
उनले भने, ‘कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ । कृषकलाई पनि सुन्तलाखेतीको तरिकाबारे सिकाउने गरेको छु ।’ जिल्लाका अन्य ठाउँहरुमा गितसिला नामको किरा तथा ग्रिनिङबाट बोट नष्ट भएपनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनको भनाइ छ । जिल्लामा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ ।
त्यस वर्ष नौ हजार ६४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैंचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैंचासम्म पुग्ने गरेका छन् ।
काठमाडौंका अलवा पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसानहरू बताउँछन् । ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०/०८१ मा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले कृषकलाई बगैंचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।