Logo

किसानको सहयोगी बन्दै सहकारी

स्याङ्जा– स्याङ्जाको एक सहकारी संस्था स्थानीय किसानको सहयोगी बन्दै आएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी किसानको लागि सहयोगी बनेको हो ।

उक्त सहकारीले कृषिमा व्यवसायीकरण गर्न कम्तीमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनमा पाँच हजार नगद अनुदान दिँदै आएको छ । तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको छ ।

गाउँपालिका भित्र २ हजार ५ सय सेयर सदस्य रहेको सहकारीले झन्डै ४ हजार ५ सय किसानलाई सेवा प्रवाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बन्नका लागि भकारो सुधार, पशु नस्ल सुधार कार्यक्रमअन्तर्गत उन्नत जातका बोका र राँगा व्यवस्थापन गर्दै आएको सो सहकारीले जनाएको छ ।

२०५९ मा स्थापित सहकारीले ५० प्रतिशत मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सहकारीले सेयर सदस्यको २१ पशु क्षतिपूर्ति स्वरूप १ लाख ४५ हजार २ सय रकम उपलब्ध गराएको छ ।

सामाजिक सामुदायिक कार्यक्रममा पुँजी वृद्धि गर्न ऋणको ५ प्रतिशत रकम र ५ प्रतिशत ऋण सुरक्षण कोषको व्यवस्था गरेको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताए । १ हजार ५३२ पुरुष र १ हजार पाँच जना महिला सेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्