ग्लोबल आइएमईले हाथवे प्राप्ति गरी एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक सुभारम्भ गरिन् ।
कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरू एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन् । बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उनले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक रोशन कुमार सिग्देलले बैंकहरू जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पूँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गर्दैै वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने हुनाले कर्मचारी व्यवस्थापनलगायतका पक्षहरूमा विशेष ध्यान दिनुपर्ने पनि बताए ।
उक्त अवसरमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गरेको बताए । उनले बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा एक्विजिशन गर्दै बैंक सबल बन्दै अगाडि बढ्दै गइरहेको र हालै मात्र जनता बैंक नेपालसँग मर्जरको समझदारी पत्रमा हस्ताक्षर भई मर्जरलाई छिटोभन्दाछिटो सम्पन्न गराउन लागिरहेको पनि बताए ।
कार्यक्रममा हाथवे फाइनान्स कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले प्राप्ति पश्चात शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने जानकारी गराएका थिए । हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप १२७ अर्ब भन्दा बढी, कूल कर्जा १ खर्ब १९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ ।
हाल बैंकले १४८ एटीएम, १८५ शाखारहित बैंकिङ्ग सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।