Logo

घरजग्गा प्रदर्शनी पुस १२ देखि

काठमाडौं– आगामी पुस १२ देखि काठमाडौंमा घरजग्गा सम्बन्धी प्रदर्शनी ‘रियल इस्टेट एक्स्पो’ हुने भएको छ । आवास तथा जग्गा विकासकर्ताहरूको संस्था नेपाल जग्गा तथा आवास विकास संघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस १२ देखि १५ सम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी हुने जनाएको हो ।

संघले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्द्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो ।

एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरेको संघले जनाएको छ । संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले नेपाल सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको संघले जनाएको छ ।

यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुने संघको अपेक्षा छ । नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी एक्स्पो हुन लागेको भएपनि यसले रियल इस्टेट क्षेत्रको सबै क्षेत्रहरु व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीसहित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने संघले जानकारी दिएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने पनि संघले उल्लेख गरेको छ ।

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार अनौपचारिक क्षेत्रमा बढी कारोबार भइरहेको बताए । उनले भने,‘अनौपचारिक क्षेत्रबाट बढी र औपचारिक क्षेत्रबाट कम कारोबार भइरहको अवस्था भएकाले सरकारले देशभरका व्यवसायीहरुको लागि कानून बनाएर अनुमति प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था भएमा मात्र यो क्षेत्रको कारोबारको वास्तविक तथ्यांक र कम्पनीको रेकर्ड आउने छ ।’ आर्थिक मन्दीको कारण देशभर घरजग्गाको कारोबार सुस्त भएता पनि ५० हजार घर वार्षिक रुपमा निर्माण हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्