Logo

इजरायलमा मृत्यु भएका आठ नेपालीको शव हस्तान्तरण

काठमाडौं- इजरायल हमास युद्धमा मारिएका १० नेपाली मध्ये ८ नेपालीको शव इजरायल पक्षले पहिचान गरेको नेपाल पक्षलाई जानकारी गराएको छ । यसअघि २ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ भने ३ जनाको शव नेपाली पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्रमा हत्या गरिएका १० नेपालीमध्ये पाँच जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । आइतबार इजरायल पक्षले तीन नेपालीको शवको पहिचान भएको जानकारी गराएको दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए ।

नेपाली दूतावास तेलअभिभका अनुसार दक्षिणी इजरायलको किबुज अलमिम्मा प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन पुलाराको शव पहिचान भएको जनाएको छ । यससँगै हालसम्म सो घटनामा निधन भएका ८ विद्यार्थीको शव पहिचान भएको छ भने बाँकीको पहिचान हुने क्रममा रहेको दूतावासले जनाएको छ ।

यसैगरी उपलव्ध इजरायली सरकारका सम्पूर्ण संयन्त्र प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यसमेत जारी राखिएको दूतावासले जनाएको छ । जोशीको खोजीका लागि दूतावासले त्यहाँका सरकारी समयन्त्र तथा निजी क्षेत्रद्वारा सञ्चालित अस्पताल तथा अन्य क्षेत्रसँग समन्वय गरिरहेको छ । इजरायलमा मृत्यु भएकामध्ये ४५० विभिन्न स्वदेशी तथा विदेशीको शव अझै पहिचान हुन सकेको छैन । आक्रमणमा परी घाइते भएका ४ जना विद्यार्थीमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जसमध्ये एक जना नेपाल आइसकेको र एक जना दूतावासको हेरचाहमा रहेका छन् । यसैगरी बाँकी दुई जना अस्पतालमा उपचारकै क्रममा रहेका छन् । हमासको आक्रमण परी मृत्यु भएका इजरायली नागरिकसहित विदेशीमध्ये ४५० को मृत्यु सनाखत हुन सकेको छैन । विगत २ हप्तादेखि इजरायलमा इराइरहेका नेपाली जोशी हमासको कब्जामा रहेको आशंका रहेपनि त्यसको पुष्टी भने इजरायल सरकारले समेत गर्न सकेको छैन ।

इजरायलमा हमाससँगको भिडन्त अझै लम्बिने देखिएकाले त्यहाँ रहेका नेपालीलाई सम्पर्कमा रहन आग्रह गरिएको दूतावासका प्रथम सचिव घिमिरेले जानकारी दिए । नेपाल सरकारले इजरायलमा कागजातविहीन (अनडकुमेण्डेड) रुपमा रहेका नेपालीलाई समेत दूतावासको अनलाइन प्रणालीमार्फत नाम दर्ता गराउन अनुरोध गरेको छ ।

इजरायलमा चार हजार भन्दा बढी नेपाली विभिन्न पेशा, व्यवसाय गरेर बसे पनि न्यून नेपालीले मात्र स्वदेश फर्कन दूतावासमा सम्पर्क गरेका छन् । नेपाल फर्कन सम्पर्क गरेका नेपालीलाई स्वदेश फर्काउने दूतावासले सहयोग गर्ने जनाएको छ । श्रम स्वीकृति लिएर गएका नेपाली आफ्नो खर्चमा फर्कन चाहेमा नेपाल आएर सो खर्च दाबी गरी फिर्ता लिन सक्ने जनाइएको छ । हाल इजरायलबाट नेपाल आउन चाहेमा कर्मसियल उडानबाट आउन सकिने दूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीलाई दूतावासले सहजिकरण गर्ने जनाएको छ । इजरायलमा रहेका नेपालीलाई संयममित भएर सरकारले जानकारी गराएको सुरक्षा मापदण्ड पालन गर्दै बस्न अनुरोध गरिएको छ । विभिन्न हवाई माध्यमबाट इजरायल जाने नेपालीको संख्या धेरै भएकाले दूतावासले त्यहाँ रहेकाहरुको यकिन संख्या पत्ता लगाउनु पर्ने जनाउँदै अनलाइनबाट नाम अनिवार्य दर्ता गराउन अनुरोध गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्