Logo

निगमले तिर्‍यो किस्ता

काठमाडौं– नेपाल वायुसेवा निगमले असोजसम्मको किस्ताबापतको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिरेको हो ।

दुई न्यारोबडी विमानको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निगमले व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको जनाएको छ ।

नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खर्र्च नियमित तथा आकस्मिक रूपमा हुने विमान मर्मत–सम्भार खर्चसमेत बेहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको निगमले भनेको छ । यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना विमान आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा पुगेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

निगमले नयाँ तीन विमान खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडादरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास लिएको छ । यसैबीच निगमका सबै जहाज सञ्चालनमा आएका छन् । केही दिनदेखि निगमका विमानहरूमा प्राविधिक समस्या आएका कारण विमान अल्पकालीन ग्राउन्डेड भई उडान प्रभावित भएको थियो ।

निगमले नियमानुसार आवश्यक मर्मतपश्चात् दसैं, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा सबै विमान मर्मत गरी सञ्चालनमा ल्याएको हो । निगमको असोज २९ देखि सबै जहाज नियमित उडानमा रहेका छन् । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमको विश्वास रहेको छ । आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान पनि निगमले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्