औद्योगिक वातावरण संकटको सँघारमा

बुटवल– मुलुकको औद्योगिक वातावरण संकटको सँघारमा पुगेको उद्योगीहरूले बताएका छन् । उनीहरूले उद्योग–व्यवसाय सुधार्न राज्यले नीति र विधिमा सुधार गर्न नसकेको बताए । रूपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनमा बोल्ने उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले कोभिडले थला परेको अर्थतन्त्रप्रति राज्यले निर्वाह गर्नुपर्ने भूमिका कमजोर भएको बताएका हुन् ।
अधिवेशन उद्घाटन सत्रमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उद्योगहरू कठिनतापूर्वक चलेको उल्लेख गरे । ‘औद्योगिक क्षेत्रको संरक्षण र औद्योगिक वातावरण सरकारको प्राथमिकतामा परेको छैन । अर्थतन्त्र राजनीतिको उपयोगितावाद र अवसरवादको सिकार हुँदै आएको छ,’ उनले भने, ‘उद्योग–व्यवसायलाई उकास्न राज्यको नीति र विधिमा सुधार आउन सकेन । नेपालको औद्योगिक क्षेत्र संकटको सँघारमा पुगेको छ ।’
अधिवेशनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटमा रहे पनि वर्तमान सरकारले अर्थतन्त्र सुधार गर्नेतर्फ चासो नदिएको बताए । सरकार मुलुकको आर्थिक अवस्था सुधार गर्नेतर्फभन्दा पनि सत्ता टिकाउने चिर्कटो लेख्नमा केन्द्रित भएको उनले आरोप लगाए ।
वर्तमान अर्थमन्त्री मुलुकको आर्थिक अवस्थाबारे बेखबर रहेको आरोप लगाउँदै उनले समस्याको बारेमा जानकारी नभएपछि कसरी समस्या समाधान हुन्छ भनि प्रश्न गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधार गर्ने उपायबारे आफूहरूले सरकारलाई सुझाव दिएको भन्दै उनले त्यसको सम्बोधन नभएको उल्लेख गरे ।
मुलुकको समग्र विकासका लागि सरकारसँगै प्रमुख प्रतिपक्षी दलको पनि महत्वपूर्ण भूमिका रहने भन्दै अवस्था सुधार गर्नेतर्फ आवाज उठाउन उनले पूर्वअर्थमन्त्री पौडेललाई आग्रह गरे । रूपन्देही–५ का सांसद वासुदेव घिमिरेले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, संघका पूर्वअध्यक्ष बोनिन पियालगायतले औद्योगिक वातावरण निर्माण हुनुपर्ने बताएका थिए । संघको अधिवेशनअन्तर्गत अध्यक्षमा दिलीप पौडेलसहित १५ जना पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदहरूमा सोमबार मतदान भएको छ ।